भद्रपुर । युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले झापामाआयोजना हुन लागेको प्रथम झापा लिग सम्पन्न गर्न विभिन्न समिति गठन गरिएको छ ।

आयोजक भद्रपुर झापा गोल्डकपको सचिवालय भद्रपुरमा सोमबार सम्पन्न बैठकले अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताका लागि आर्थिक, प्राविधिक, व्यवस्थापन, अतिथि सत्कार, पार्किङ, प्रचारप्रसार लगायतका समिति गठन गरिएको अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

अघिल्लो फागुनमा भव्यताका साथ भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको भद्रपुर झापा गोल्डकपले यही मंसिर ७ गतेदेखि झापा लिग गर्न लागेको हो ।

भद्रपुरको मेची रंगशालामा हुने झापा लिग १७ दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगिता फिफा विश्वकपको ढाँचामा खेलाइने अध्यक्ष ढकालले बताए ।

झापाका १५ वटा पालिका र आयोजकको एक टिम गरी प्रतियोगितामा १६ वटा टिमले प्रतिस्पर्धा गर्ने छन् । १६ वटा टिमलाई चारवटा समूहमा विभाजन गरी खेलाइने महासचिव जीवनकुमार श्रेष्ठले बताए ।

प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछन् ।

प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन् ।

त्यस्तै, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ । प्रतियोगिताका लागि रंगशाला सम्याउने, झार काट्ने तथा घाँस हुर्काउने काम भइरहेको छ ।