धुलाबारी । विद्युतको ट्रान्सफर्मरमा प्राविधिक समस्या आएका कारण बुधबारदेखि झापाको धुलाबारी क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको छ। नेपाल विद्युत प्राधिकरण धुलाबारी सेवा केन्द्रअन्तर्गत रहेको ट्रान्सफर्मरको क्षमता पर्याप्त भए पनि सर्किटबाट लगातार तेल चुहिएका कारण यसको कार्यक्षमता कमजोर भएको हो। 

पूर्व क्षेत्रका लागि राखिएको उक्त ट्रान्सफर्मर बिग्रिएपछि हाल चन्द्रगढी र बिर्तामोडको ट्रान्सफर्मरलाई 'कम्बाइन' (समान्तरण) गरेर विद्युत सेवा प्रवाह भइरहेको धुलाबारी सेवा केन्द्रका प्रमुख शम्भुप्रसाद मण्डलले जानकारी दिए। तर, ट्रान्सफर्मरले पूर्ण रूपमा काम नगर्दा र क्षमताले नधान्दा छिनछिनमा विद्युत 'ट्रिप' हुने (आउने-जाने) समस्या देखिएको छ। धुलाबारी सेवा केन्द्रअन्तर्गतका दुई वटा शाखामार्फत हाल ४५ हजार ४९० सेवाग्राहीले सेवा लिँदै आएका छन्। 
"ट्रान्सफर्मर मर्मत गर्न वा नयाँ व्यवस्थापन मिलाउन कम्तीमा दुई दिन लाग्छ," प्रमुख मण्डलले भने, "त्यो अवधिसम्म सर्वसाधारण ग्राहकलाई नियमित विद्युत सेवा दिनका लागि हामीले मेचीनगर क्षेत्रमा सञ्चालित उद्योगीहरूसँग समन्वय गरिरहेका छौँ।"
प्रमुख मण्डलका अनुसार उद्योगीहरूले दुई दिनसम्म आफ्नो विद्युत खपत कम गरिदिएमा सर्वसाधारणले निरन्तर बत्ती पाउनेछन्। यसका लागि उक्त क्षेत्रमा सञ्चालित २२ देखि २५ वटा ठूला तथा मझौला उद्योगहरूसँग समन्वय भइरहेको छ। यदि उद्योगीहरूले यो संकटको समयमा विद्युत प्रयोग कटौती नगरेमा उद्योगहरूको लाइन काटेर भए पनि सर्वसाधारणलाई सेवा दिइने रणनीति सेवा केन्द्रले बनाएको छ। 
धुलाबारी विद्युत सेवा केन्द्रअन्तर्गत हाल १२ वटा चिया उद्योग, ४ वटा सिमेन्ट उद्योग, ५ वटा ठूला प्लाई उद्योग, ३ वटा चामल उद्योग र सिङ्गापुरे वेभरेजसहित अन्य साना तथा मझौला उद्योगहरू सञ्चालनमा रहेका छन्।