झापा । विभिन्न प्रलोभनमा पारेर रोजगारीका लागि स्पेन लैजाने भन्दै ठगी गरेको आरोपमा बिर्तामोडका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड-१० घर भई काठमाडौँको कागेश्वरी मनोहरा-६ मा बस्दै आएका ४६ वर्षीय उत्तम गुरुङ रहेका छन् । उनलाई भदौ १९ गते काठमाडौँ-१० बाट पक्राउ गरिएको हो । उनले स्पेन पठाउने भन्दै तीन जनाबाट १५ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको हो ।
आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि स्पेन लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरुले जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा गुरुङलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।























































