झापा । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले झापाको मेचीनरमा चालक र सहचालकको स्वास्थ्य परीक्षण गरिएको छ । उक्त स्वास्थ्य परीक्षणका क्रममा लागूऔषध सेवन गरेर सवारी चलाउने तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार मेचीनगर-७ स्थित प्रनिक आयल निगममा ३४ जना चालक र सहचालकको स्वास्थ्य परीक्षण गरेको थियो । सो क्रममा दुईजना सहचालक र एक जना चालकले लागूपदार्थ सेवन गरेको पाइएको हो । ती सहचालकहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले बताएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा तथा ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाको संयुक्त आयोजनामा गरिएको स्वास्थ्य परीक्षणमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा, सशस्त्र प्रहरी बल काँकरभिट्टा, मेची सामुदायिक प्रहरी सेवा केन्द्र, मेचीनगर आधारभूत अस्पताल धुलावारी, लायन्स क्लब अफ मेचीनगर, विभिन्न यातायात व्यवसायीहरूको उपस्थिति रहेको थियो । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पूर्व–पश्चिम राजमार्गमा सञ्चालित यात्रुवाहक सार्वजनिक सवारी साधनहरू (बस, म्याजिक भ्यान आदि) का चालक-सहचालकहरूले लागूऔषध सेवन गरेको-नगरेको कीटमार्फत परीक्षण गरिएको प्रहरी निरीक्षक राईले जानकारी दिए । सवारी साधनहरुको डग स्निफिङद्वारा चेकजाँच गरिएको थियो ।























































