झापा । भगवान् श्रीकृष्णको जन्म भएको खुसीयालीमा राजवंशी समुदायले परम्परागत रूपमा मनाउँदै आएको  दधिकाद पर्व झापा विभिन्न स्थानमा हर्षोल्लासका साथ सम्पन्न भएको छ ।

झापाको मेचीनगर नगरपालिका–७ इट्टाभट्टास्थित श्री विष्णु लक्ष्मी मन्दिरको प्राङ्गणमा पनि विविध कार्यक्रमसहित दधिकाद पर्व मनाइएको हो।

स्थानीय सहयोगी रूमा राजवंशीका अनुसार पूजा समितिका अध्यक्ष अर्जुन राजवंशीको अध्यक्षतामा इट्टाभट्टामा आयोजित कार्यक्रममा विभिन्न परम्परागत खेल तथा प्रतियोगिता सञ्चालन गरिएको थियो ।

महिना दिनअघि पानीमा डुबाएर राखिएको चिप्लो बाँसमा चढेर टुप्पोमा राखिएको पुरस्कार निकाल्ने प्रतियोगितामा पवन राजवंशी प्रथम भएका थिए । पुरस्कारस्वरुप उनलाई स्टेन पङ्खा प्रदान गरिएको थियो। त्यसैगरी, चिप्लो केराको धम्बामा चढेर पुरस्कार निकाल्ने प्रतियोगितामा युवराज राजवंशी प्रथम हुनुभएपछि उनलाई सिलिङ पङ्खा प्रदान गरिएको थियो।

हन्डीफोर प्रतियोगितामा जय र मोहन राजवंशी प्रथम भएका थिए । उनलाई टेबन फ्यान प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी पायल राजवंशी, निश्चल बिमली, कायरव राजवंशी र आरुसी राजवंशीलाई जनही एक सय रुपैयाँ सान्त्वना पुरस्कार प्रदान गरिएको थियो।

प्रतियोगिताका विजेता तथा सहभागीलाई प्रदान गरिएका पुरस्कार स्थानीय ८० वर्षीया आमा आलोनी राजवंशीले वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन दधिकाद पूजा समितिकी सचिव रेवती राजवंशीले गरेका थिए।

राजवंशी समुदायमा भगवान् श्रीकृष्णको पूजा–आराधना गरी दधिकाद पर्व मनाउने परम्परा रहेको छ । पर्वका अवसरमा विभिन्न मनोरञ्जनात्मक तथा परम्परागत खेल सञ्चालन गर्ने चलनसमेत रहेको छ ।

मेचीनगरका साथै बस्ती विकास, जोरसिमल, मदन बस्ती, इट्टाभट्टा लगायत राजवंशी समुदायको बाहुल्य रहेका झापाका विभिन्न क्षेत्रमा पनि दधिकाद पर्व हर्षोल्लासका साथ मनाइएको छ । त्यस्तै झापाको भद्रपुरस्थित भुर्ली बस्तीमा दधिकाद पर्व धुमधामका साथ मनाइएको छ।