झापा । प्रकृति संरक्षण र पर्यटन प्रवर्द्धनका लागि झापाबाट  `हात्तीमैत्री पदयात्रा-२०८०´साता अभियान सुरु गर्ने भएको छ । पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशको आयोजनामा `हात्तीमैत्री पदयात्रा-२०८०´ कार्यक्रम तय भएको जिल्ला वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए । 

भारतबाट नेपाल प्रवेश गरेका जङ्गल हात्ती मानववस्तीमा प्रवेश गरेर धनजनको क्षती पुर्याउँदै आएका बेला प्रदेशस्तरीय हात्तीमैत्री पदयात्रा सुरु गर्न लागेको हो । यात्रामा जंगली हात्ती आक्रमण, धनजनको क्षति र त्यसलाई रोकथाम गर्ने उपयका बारेमा जानकारी एबम् सचेतना गरिँने छ । यात्रामा पर्यटन वन तथा वातावरण मन्त्रालयका मन्त्री तथा कर्मचारी, जिल्ला वन कार्यालयका प्रमुखसहित प्रतिनिधि, मानव हात्ती द्वन्दका क्षेत्रमा कृयाशील संघ-संस्थाका प्रतिनिधि, वन कार्यालयका प्रतिनिधिहरुको सहभागीता रहने प्रमुख राईको भनाई छ ।
पुर्वको मेचीनगर-१ को प्रसादे गौंडामा फागुन ९ गते आयोजना गरेको कार्यक्रममा उद्घाटन गरी हात्तीमैत्री पदयात्रा शुभारम्भ हुनेछ  ।  यात्राको पहिलो दिन मेचीनगर-२ को निरौला गाउँ गाई फर्म, ढकाल गाउँ, थापा चोक, बहुवन हुँदै पाँचपोखरी सामुदायिक वन, बुद्धशान्ति-४ र मेचीनगर-९ को मारमाडी सामुदायिक वन, बुधबारे चोकबाट दक्षिण कैदले वन हुँदै जुकेखाँडीसम्म यात्रा गर्ने तयारी गरेको छ ।
दोश्रो दिन दहिझोडा, प्रजापती, सुकेडाँगी, गैडे सामुदायिक वन र रतुवामाई बृक्षरोपण, चुलाचुलीस्थित सव डिभिजन कार्यालय आसपासमा बास बस्ने तय गरिएको छ । तेस्रो दिन दमक -२ को फायरलाईन, हम्सेदुम्से आपझोला, जनज्योति, धानखेती शृजना, लेटाङ-४ को त्रिवेणी, जनसेवा, कमलपुर सामुदायिक वनमा बास बस्ने यात्रा तालिकामा उल्लेख छ ।
चौथो दिन लेटाङ-३ को कीर्तिमान, जनचाहना, चिसाङ, आपझोला, गछियाँको लाटिझोडा साझेदारी वन हुँदै खोर्साने खाप र इटहरी-२ स्थित सरस्वती सामुदायिक वनमा बास बस्ने । पाँचौ दिन सेउती खोला कालिन्द्र सामुदायिक वन, ब्यापारीघाँरी, डुङ्गाबाट कोशी नदी तरेर श्रीलंका टापू हुँदै भागलपुरमा बस्ने कार्यक्रम तालिका तय गरिएको उल्लेख छ ।
छैठौं दिन आम्बासी हुँदै फत्तेपुर हडिया, जोगिहद, मोतिगडा, सातौं दिन लेहाले खोला, जलजले, मोहनजुर, चिसापानी, कौबाई, त्रियुगापुल, नेपालटार तथा आठौं दिन नेपालटार बजार हुँदै रातमाटे, भुल्के कटारी, बेलसोत बजारमा यात्रा समापन गरिने कार्यक्रम तालिकामा उल्लेख छ ।