झापा । नेपालको पछिल्लो राजनीतिक इतिहासमा निर्णायक मोड ल्याएको जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ । सुशासन, भ्रष्टाचारको अन्त्य, राज्यको जवाफदेहिता तथा सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध गत वर्ष भदौ २३ र २४ गते देशभर उठेको युवा आवाजले तत्कालीन राजनीतिक व्यवस्थामाथि ठूलो राजनीतिक दबाब सिर्जना गरेको थियो ।

जेनजी आन्दोलन केवल सडकमा व्यक्त भएको असन्तुष्टि मात्र थिएन । आफ्नो पुस्ताको भविष्य, सुशासन र राज्य व्यवस्थामा परिवर्तनको माग गर्दै युवाहरूले गरेको संघर्ष र बलिदानको रूपमा समेत यसलाई लिइएको छ ।

आन्दोलन तथा त्यसपछिका घटनाक्रममा ७६ जनाले ज्यान गुमाएका थिए भने २ हजार ६ सयभन्दा बढी घाइते भएका थिए । सरकारले हालसम्म ४५ जनालाई सहिद घोषणा गरेको छ ।

सरकारले हरेक वर्ष भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ। सोही अवसरमा आज देशभर सार्वजनिक बिदासमेत दिइएको छ । सहिद परिवारका आमाबुबा, श्रीमान्–श्रीमती तथा अविवाहित छोराछोरीलाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ ।

आन्दोलनको एक वर्ष पूरा हुँदा यसले नेपालको राजनीतिमा ल्याएको परिवर्तनलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । तर आन्दोलनमा ज्यान गुमाएका परिवार तथा घाइते युवाका समस्या भने अझै पूर्ण रूपमा समाधान हुन सकेका छैनन् । उपचार, रोजगारी, क्षतिपूर्ति तथा राज्यबाट प्राप्त गर्नुपर्ने सहयोगका विषयमा अझै प्रश्नहरू उठिरहेका छन् ।

यसैबीच, सोमबार मात्रै संघीय संसद् परिसरमा ‘जेनजी सहिद स्मृति पार्क, प्रतिमा तथा स्तम्भ’ निर्माणको शिलान्यास गरिएको छ। सरकारले जेनजी आन्दोलनका माग, योगदान र बलिदानलाई संस्थागत गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।

एक वर्षपछि आजको दिन जेनजी आन्दोलनमा जीवन गुमाउने युवाहरूलाई सम्झिने दिन मात्र नभई उनीहरू किन सडकमा उत्रिनुपरेको थियो भन्ने प्रश्नमाथि आत्मसमीक्षा गर्ने दिनका रूपमा समेत लिइएको छ ।

सहिदका नाममा दिवस मनाउनु मात्रै पर्याप्त नहुने भन्दै उनीहरूले उठाएका सुशासन, जवाफदेहिता, भ्रष्टाचारमुक्त शासन र सम्मानजनक भविष्यका मुद्दालाई व्यवहारमै कार्यान्वयन गर्न सके मात्र उनीहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुने आवाज उठिरहेको छ ।

जेनजी आन्दोलनमा जीवन गुमाउने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति आज देशभर भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिँदैछ भने आन्दोलनमा घाइते तथा प्रभावित भएकाहरूको शीघ्र स्वास्थ्यलाभ र उचित सहयोगको अपेक्षा गरिएको छ।