धुलबारी । नेपाली कांग्रेसको आगामी संगठनात्मक निर्वाचन नजिकिँदै गर्दा झापामा पार्टीभित्र नेतृत्वका आकांक्षीहरूको चर्चा सुरु हुन थालेको छ । नेपाली कांग्रेसमा उदाएका स्पष्टवक्ता, मेचीनगर–१० का पूर्व वडाध्यक्ष एवं युवा नेता सुबेशकुमार पनेरु क्षेत्रीय सभापतिको उम्मेद्वार बन्न सक्ने चर्चा कांग्रेस वृत्तमा चल्न थालेको छ । पनेरुले आगामी अधिवेशनमा नेपाली कांग्रेसको क्षेत्रीय सभापति पदमा उम्मेद्वारी दिने विषयमा औपचारिक घोषणा भने गरिसकेका छैनन् । तर, उनको राजनीतिक पृष्ठभूमि, संगठनमा गरेको योगदान र लामो समयदेखि पार्टीमा सक्रिय भूमिकाका कारण उनलाई क्षेत्रीय सभापतिमा अघि बढाउनुपर्ने आवाज कार्यकर्ताको तहबाट उठ्न थालेको बताइएको छ ।
पनेरु निकट कार्यकर्ताहरूले उनलाई क्षेत्रीय सभापतिमा उम्मेद्वारी दिन आग्रह गर्दै दबाबसमेत दिन थालेका छन् । स्थानीय तहदेखि पार्टी संगठनमा सक्रिय रहेका पनेरुलाई क्षेत्रीय नेतृत्वमा ल्याउनसके कांग्रेस संगठनलाई थप मजबुत बनाउन सकिने उनीहरूको तर्क छ । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय पनेरु नेपाल विद्यार्थी संगठन, पाटन संयुक्त क्याम्पसको स्ववियु उपाध्यक्षको कार्याभार सम्हाल्दै कांग्रेस पार्टीमा राजनीतिक पहिचान बनाएका छन् । विद्यार्थी संगठन हुँदै युवा संगठन र त्यसपछि पार्टीको मूल राजनीतिमा सक्रिय रहँदै आएका पनेरुलाई लामो राजनीतिक अनुभव भएका युवा नेताका रूपमा उनका समर्थकहरूले प्रस्तुत गर्दै आएका छन् । मेचीनगर–१० को वडाध्यक्षका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका पनेरुले स्थानीय तहको नेतृत्वमा रहेर काम गरेको अनुभव पनि हासिल गरेका छन् । वडाध्यक्षका रूपमा रहँदा स्थानीय विकास, जनसरोकारका विषय र पार्टी संगठनसँगको समन्वयमा काम गरेको अनुभवलाई उनका समर्थकहरूले अहिले क्षेत्रीय नेतृत्वका लागि उनको बलियो आधारका रूपमा हेरिएको छ ।
सुबेश पनेरुको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको बताइन्छ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा सक्रिय हुँदै उनले संगठन निर्माण र नेतृत्वको अभ्यास गरेका थिए । उनले युवाहरूलाई कांग्रेसको मूलधारको राजनीतिसँग जोड्ने प्रयास गरेका थिए । कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय रहँदा पनेरुले पार्टीका विभिन्न गतिविधि, निर्वाचन तथा संगठन विस्तारका अभियानमा समेत भूमिका निर्वाह गर्दै आएको उनका निकटस्थहरूको दाबी छ ।
युवाहरूको बीचमा उनको सक्रियता र स्थानीय तहमा बनाएको राजनीतिक सम्बन्धलाई आगामी क्षेत्रीय अधिवेशनमा उनको सम्भावित उम्मेद्वारीको आधारका रूपमा हेरिएको छ । कांग्रेसमा क्षेत्रीय सभापतिको भूमिका संगठनका दृष्टिले महत्वपूर्ण मानिन्छ । क्षेत्रीय सभापतिले आफ्नो निर्वाचन क्षेत्रभित्र पार्टीका वडा, पालिका तथा अन्य तहका संगठनसँग समन्वय गर्दै पार्टी गतिविधिलाई प्रभावकारी बनाउनुपर्ने हुन्छ । त्यसैले क्षेत्रीय नेतृत्वका लागि उम्मेदवार छनोट गर्दा राजनीतिक अनुभव, संगठन सञ्चालन क्षमता र कार्यकर्तासँगको सम्बन्धलाई महत्वपूर्ण आधारका रूपमा लिने गरिन्छ ।
यसैबीच नेपाली कांग्रेसको उक्त क्षेत्रमा वर्तमान क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले आफ्नो कार्यकाल पूरा गरेका छन् । बुढाथोकीको कार्यकाल सकिएसँगै आगामी अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले क्षेत्रीय सभापतिको पदका लागि आकांक्षीहरूको चर्चा सुरु भएको हो । नेपाली कांग्रेस पार्टीमा इमान्दार र वफदार रहेका बुढाथोकीले आफ्नो कार्यकालमा पार्टीको क्षेत्रीय संगठनलाई नेतृत्व गर्दै विभिन्न राजनीतिक तथा सांगठनिक गतिविधिमा भूमिका निर्वाह गरेका थिए । उनको कार्यकाल पूरा भएपछि संगठनलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने आवाज कांग्रेसभित्र उठ्न थालेको छ । यही पृष्ठभूमिमा पनेरुको नाम सम्भावित उम्मेद्वारका रूपमा चर्चामा आउनुलाई कांग्रेसभित्र नयाँ पुस्ताको नेतृत्वप्रतिको आकर्षणका रूपमा समेत हेरिएको छ ।
तर, पनेरुले उम्मेद्वारी दिने वा नदिने विषयमा अन्तिम निर्णय भने गरिसकेका छैनन् । उनीनिकट स्रोतका अनुसार कार्यकर्ताको आग्रह र पार्टीभित्रको राजनीतिक वातावरणलाई मूल्यांकन गर्दै उनले आगामी दिनमा आफ्नो उम्मेद्वारीबारे निर्णय लिन सक्नेछन् ।
पनेरुलाई क्षेत्रीय सभापतिमा उम्मेद्वार बनाउनुपर्ने भन्दै उनका समर्थक तथा शुभेच्छुक कार्यकर्ताहरूले छलफल अघि बढाएका छन् । विद्यार्थी संगठन, पार्टीको जिल्ला सदस्य र नगरको सभापतिको जिम्मेवारी तथा स्थानीय तह मेचीनगर १० को वडाध्यक्षको जिम्मेवारी समेत सम्हाल्ने अनुभव भएकाले पनेरुलाई क्षेत्रीय नेतृत्वका लागि उपयुक्त पात्रका रूपमा उनीहरूले अघि सारेका छन् । एक युवा कार्यकर्ताका अनुसार पार्टीमा लामो समयदेखि सक्रिय रहेका व्यक्तिलाई नेतृत्वमा ल्याउँदा संगठनभित्र नयाँ ऊर्जा थपिन सक्नेछ । युवा पुस्ताको सहभागिता बढाउने र पार्टीलाई तल्लो तहसम्म थप व्यवस्थित बनाउने सवालमा पनेरुले भूमिका खेल्न सक्ने कार्यकर्ताको बुझाइ छ । क्षेत्रीय सभापतिको निर्वाचनमा व्यक्तिगत लोकप्रियताभन्दा पनि वडा, पालिका तथा क्षेत्रभित्रका पार्टी संरचनासँगको सम्बन्ध महत्वपूर्ण हुने भएकाले पनेरुको सम्भावित उम्मेद्वारीलाई पनि त्यहीँ आधारमा मूल्यांकन गरिने देखिन्छ ।
नेपाली कांग्रेसमा पछिल्लो समय पुरानो पुस्तासँगै नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने विषयमा बहस चलिरहेको छ । स्थानीय तहमा युवा पुस्ताका नेताहरूको सक्रियता बढ्दै गएको अवस्थामा क्षेत्रीय नेतृत्वमा समेत नयाँ अनुहारको खोजी हुन थालेको कांग्रेसका स्थानीय नेताहरू बताउँछन् । मेचीनगर क्षेत्रमा पनि पार्टीको संगठनलाई थप चलायमान बनाउने, युवालाई पार्टीमा आकर्षित गर्ने तथा आगामी निर्वाचनलाई लक्षित गरेर संगठन विस्तार गर्ने विषयमा नेतृत्वले ध्यान दिनुपर्ने आवश्यकता रहेको कार्यकर्ताहरूको भनाइ छ । यस्तो अवस्थामा पनेरुको सम्भावित उम्मेद्वारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ। युवा पुस्तासँग सहज सम्बन्ध स्थापित गर्न सक्ने उनका समर्थकहरूको दाबी छ ।
तर क्षेत्रीय सभापतिको निर्वाचनमा पनेरुको सम्भावना कति बलियो हुन्छ भन्ने कुरा उनको औपचारिक उम्मेद्वारी, अन्य आकांक्षीको उपस्थिति र पार्टीभित्र बन्ने समीकरणमा निर्भर रहनेछ । क्षेत्रीय सभापतिको पदमा पनेरुको नाम चर्चामा आए पनि कांग्रेसभित्र अन्य नेताहरूले समेत आकांक्षा राख्न थालेका छन् । अधिवेशनको मिति नजिकिँदै जाँदा उम्मेद्वारीका विषयमा छलफल र राजनीतिक भेटघाट तीव्र बनेको छ । कांग्रेसको आन्तरिक निर्वाचनमा स्थानीय राजनीतिक समीकरणले महत्वपूर्ण भूमिका खेल्ने भएकाले अहिले नै कसको पक्षमा कस्तो वातावरण बन्छ भन्ने स्पष्ट भइसकेको छैन । वडा तहका प्रतिनिधि, पालिका तहका नेता तथा कार्यकर्तासँगको सम्बन्ध र उनीहरूको समर्थनले आगामी निर्वाचनको परिणाममा प्रभाव पार्न सक्छ ।
पनेरु पक्ष भने आफूलाई उम्मेद्वारका रूपमा अघि बढाउने विषयमा कार्यकर्ताको सुझाव र दबाबलाई सकारात्मक रूपमा लिएको बताइन्छ । यद्यपि औपचारिक रूपमा उम्मेद्वारी घोषणा नगरेसम्म उनको उम्मेद्वारीलाई निश्चित मान्न सकिने अवस्था छैन । पनेरुको सम्भावित उम्मेद्वारीसँगै कांग्रेसभित्र युवा नेतृत्वको विषय पनि बहसमा आएको छ । विद्यार्थी जीवनदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आएका युवालाई क्षेत्रीय नेतृत्वमा ल्याउँदा संगठनमा नयाँ पुस्ताको प्रतिनिधित्व बढ्ने समर्थकहरूको धारणा छ । स्थानीय तहको नेतृत्व सम्हालिसकेका कारण पनेरुसँग जनप्रतिनिधिका रूपमा काम गरेको अनुभव पनि छ । पार्टी संगठन र जनप्रतिनिधिको भूमिकाबीचको अनुभवलाई उनले क्षेत्रीय नेतृत्वमा उपयोग गर्न सक्ने उनका समर्थकहरूको विश्वास छ । यद्यपि नेतृत्वमा पुग्नका लागि राजनीतिक अनुभवसँगै सबै पक्षलाई समेटेर अघि बढ्ने क्षमता, पार्टीभित्रको समन्वय र कार्यकर्ताको विश्वास महत्वपूर्ण हुने भएकाले पनेरुले यी विषयमा समेत ध्यान दिनुपर्ने देखिन्छ ।
आगामी क्षेत्रीय अधिवेशनले कांग्रेसको स्थानीय संगठनमा नयाँ नेतृत्व चयन गर्ने भएकाले अहिले देखिएको नेतृत्वको दौडलाई प्रारम्भिक राजनीतिक तयारीका रूपमा हेरिएको छ । बुढाथोकीको कार्यकाल पूरा भइसकेपछि नयाँ नेतृत्वका लागि आकांक्षीहरूबीच प्रतिस्पर्धा बढ्ने देखिएको छ । अब पनेरुले कार्यकर्ताको आग्रहलाई स्वीकार गर्दै औपचारिक रूपमा उम्मेद्वारी घोषणा गर्छन् वा पार्टीभित्र सहमतिको बाटो रोज्छन् भन्ने विषय भने आगामी दिनमा स्पष्ट हुनेछ । नेपाली कांग्रेसको स्थानीय राजनीतिमा नयाँ पुस्ताको नेतृत्वका लागि भइरहेको प्रयासलाई भने थप चर्चामा ल्याएको हो । आगामी अधिवेशनसम्ममा उम्मेद्वारको संख्या, राजनीतिक समीकरण र कार्यकर्ताको धारणा अझ स्पष्ट हुँदै जानेछ ।























































