रसुवा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपाल–चीन सीमा क्षेत्रका संरचनामा क्षति पुर्‍याएपछि सीमा पहिचानका लागि नेपालतर्फ फलामको पोल गाडेर नेपाली राष्ट्रिय झण्डा राखिएको छ।

भीषण बाढी तथा गेग्रानको बहावले सीमा क्षेत्रमा रहेको सीमा स्तम्भसमेत प्रभावित भएको हो। सीमा स्तम्भ रहेको स्थानमा तत्कालका लागि फलामको पोल गाडेर नेपाली राष्ट्रिय झण्डा राखिएको जनाइएको छ।

सीमा क्षेत्रमा सीमा स्तम्भको भूमिका महत्वपूर्ण हुने भएकाले बाढीले स्तम्भ बगाएपछि त्यस स्थानमा नेपालको उपस्थिति र सीमा पहिचान स्पष्ट देखाउन झण्डा राखिएको हो।

नेपाल–चीन सीमाका विभिन्न क्षेत्रमा यसअघि पनि बाढी तथा पहिरोका कारण सीमा स्तम्भमा क्षति पुगेका घटना सार्वजनिक हुँदै आएका छन् । उदाहरणका रूपमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका क्षेत्रमा रहेको ५४/३ नम्बरको सीमा स्तम्भ बाढीले बगाएपछि लामो समयसम्म पुनःस्थापना हुन नसकेको विवरण सार्वजनिक भएको छ।

यसैबीच, पछिल्लो विपद्मा नेपाल–चीन सीमाक्षेत्रमा चट्टानसहितको हिमपहिरो गएपछि ल्हेन्दे खोलामा ठूलो मात्रामा गेग्रानसहितको बाढी आएको र टिमुरे हुँदै त्रिशूली नदीमा मिसिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक निष्कर्ष छ।

बाढीले सीमा क्षेत्रको भौतिक संरचनामा समेत क्षति पुर्‍याएपछि सीमा स्तम्भको अवस्थाबारे स्थलगत निरीक्षण गरी आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने देखिएको छ। नेपाल–चीन सीमामा यसअघि पनि दुवै देशका सुरक्षा अधिकारीले संयुक्त रूपमा सीमा स्तम्भको निरीक्षण गर्दै आएका छन्।

सीमा स्तम्भ बगे पनि नेपालको राष्ट्रिय झण्डा फहराइएको दृश्यले भने विपद्का बीचमा समेत नेपालको सीमा पहिचान र राष्ट्रिय उपस्थितिगको सन्देश दिएको छ।