काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका व्यक्तिको स्याहारका लागि सहायक कामदारको आवेदन खुलेको छ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको सूचनाअनुसार इजरायलका लागि १ हजार ४६४ जना सहायक कामदार माग गरिएको छ। माग गरिएका कामदारमध्ये १ हजार १३२ जना महिला र ३३२ जना पुरुष रहेका छन्।

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा जुनसुकै उमेरका गम्भीर अपांगता भएका व्यक्तिको दैनिक स्याहार तथा सहयोग गर्ने कार्यका लागि नेपाली कामदार छनोट गरिने विभागले जनाएको छ।

आवेदन दिन इच्छुक नेपाली नागरिकले विभागले तोकेको योग्यता तथा मापदण्ड पूरा गर्नुपर्नेछ। छनोट प्रक्रिया वैदेशिक रोजगार विभागले जारी गरेको सूचनामा उल्लेखित प्रावधानअनुसार हुने जनाइएको छ।

इजरायलमा रोजगारीका लागि आकर्षक अवसरका रूपमा हेरिएको यस कार्यक्रममा ठूलो संख्यामा नेपाली श्रमिक सहभागी हुन सक्ने अपेक्षा गरिएको छ। आवेदनसम्बन्धी योग्यता, आवश्यक कागजात, आवेदन दिने तरिका, शुल्क र अन्तिम मितिलगायतका विस्तृत विवरण वैदेशिक रोजगार विभागको सूचनामा उल्लेख गरिएको छ।

विभागले इच्छुक आवेदकलाई आधिकारिक सूचना अध्ययन गरेर मात्र आवेदन दिन तथा बिचौलियाको प्रलोभनमा नपर्न आग्रह गरेको छ।