काठमाडौँ । गृह मन्त्रालयले लागूऔषध नियन्त्रणका लागि नयाँ विभाग स्थापना गर्ने निर्णय गरेको छ । बालेन्द्र शाह नेतृत्वको सरकार आएपछि गरिएको मन्त्रालयको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणका क्रममा नयाँ विभाग स्थापना गर्ने निर्णय भएको हो ।गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार मन्त्रालयको ओ एन्ड एम गर्दा नयाँ विभागका रूपमा लागूऔषध नियन्त्रण विभाग स्थापना गर्ने निर्णय भएको हो । हाल विभाग स्थापनाको प्रक्रिया अघि बढिरहेको उनले जानकारी दिए । मन्त्रालयले भदौ १८ गते ऋषिराम तिवारीलाई नयाँ विभागको महानिर्देशकका रूपमा सरुवा गरिसकेको छ । महानिर्देशक तिवारीका अनुसार विभागका लागि कार्यालय सञ्चालन गर्ने स्थान खोज्ने काम भइरहेको छ । ‘नयाँ विभाग हो, बस्ने स्थान खोजिरहेका छौँ,’ तिवारीले भने । नयाँ विभागमा १ जना सहसचिव, २ जना उपसचिव, ३ जना शाखा अधिकृत, ५ जना नायब सुब्बा र २ जना कम्प्युटर अपरेटर गरी विभिन्न पदको दरबन्दी स्वीकृत गरिएको छ।यसअघि गृह मन्त्रालयमा लागूऔषध नियन्त्रण शाखा मात्रै रहेको थियो। उक्त शाखालाई विस्तार गर्दै कार्यक्षेत्र र जिम्मेवारीको दायरा बढाएर विभागका रूपमा स्थापना गर्न लागिएको हो।यसअघि लागूऔषध नियन्त्रण शाखाले लागूऔषधसम्बन्धी नीति तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन गर्ने, लागूऔषध दुर्व्यसनीको उपचार तथा पुनर्स्थापनासम्बन्धी नीति निर्धारण गर्ने र लागूऔषधको बिक्री वितरण, ओसारपसार तथा दुरुपयोग नियन्त्रणसम्बन्धी काम गर्दै आएको थियो ।
त्यस्तै, औषधि तयार गर्न आवश्यक लागूऔषध आयात तथा प्रयोगका लागि अनुमति दिने, बरामद भएका लागूऔषध नष्ट गर्ने, लागूऔषध नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिले तय गरेका काम कार्यान्वयन गर्ने तथा उपचार र पुनर्स्थापनाका क्षेत्रमा सामाजिक संघसंस्थासँग समन्वय गर्ने जिम्मेवारी पनि शाखाले सम्हाल्दै आएको थियो ।
लागूऔषधका दुष्परिणामबारे जनचेतना अभिवृद्धि गर्ने तथा यससम्बन्धी कार्यक्रमको तर्जुमा र प्रचारप्रसार गर्ने कामसमेत शाखाबाट हुँदै आएको थियो ।
अब यी कामलाई थप व्यवस्थित गर्दै लागूऔषध नियन्त्रणसम्बन्धी नीति, अनुसन्धान, अनुगमन, समन्वय र कार्यान्वयनको दायरा विस्तार गर्ने उद्देश्यले विभाग स्थापना गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ।























































