बिर्तामोड । मेची आँखा अस्पताल बिर्तामोड शैनिकमोडले भद्रपुरमा आँखा उपचार केन्द्र शाखाको रुपमा बिस्तार गरेको छ ।

निर्माण पूरा गरेपछि मेची आँखा अस्पताल शाखा भद्रपुर नयाँ भवनमा आज औपचारिक उद्घाटन गरिएको छ । भद्रपुर नगरपालिका–५ मा रहेको केन्द्रको आकास्मिक तथा बहिरग सेवा तथा आईपिडि सेवासहितको नयाँ भवन सुभारम्भ गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले उद्घाटन पानसमा दीप  प्रज्वलन सहित रिवन काटेर उद्घाटन गरेका थिए ।

मेची आँखा अस्पताल बिर्तामोडका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा जग्गादाता परिवारका तर्फबाट गोविन्दराम सरिया, अस्पतालका मेडिकल डाइरेक्टर पुरुषोत्तम जोशी, भद्रपुर नगरपालिका–५ का वडाध्यक्ष बन्धु कार्की, नेपाल–भारत मैत्री संघ झापाका अध्यक्ष प्रदीपमणि रेग्मी, पत्रकार चिन्तामणि दाहाललगायतले शुभकामना मन्तव्य सम्बोधन गरेका थिए।

कार्यक्रममा मेची आँखा अस्पतालका पूर्वअध्यक्ष तथा भद्रपुर आँखा उपचार केन्द्र निर्माण समितिका संयोजक छत्र अधिकारीले केन्द्रको नयाँ भवन करिब ४ करोड रुपैयाँको लागतमा निर्माण भएको जानकारी दिएका थिए । आँखा अस्पताल व्यवस्थापन समितिका सदस्य सुरेश वंशलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा अस्पतालका सचिव सुरज खत्रीले कार्यक्रम सञ्चालन गरेका थिए।

यस आँखा उपचार केन्द्रका लागि स्वर्गीय जयनारायण सरियाको एक बिघा जग्गा उनका भाइ सत्यनारायण सरियाको परिवारका तर्फबाट उपलब्ध गराइएको हो । भवन निर्माणका क्रममा सरिया परिवारका तर्फबाट गोविन्द सरियाले अन्य भौतिक सामग्रीमा समेत निरन्तर सहयोग गर्दै आउनुभएको बताइएको छ। यसैबीच, नयाँ भवन उद्घाटनको अवसर पारेर केन्द्रमा तीन दिने निःशुल्क आँखा शिविर समेत सञ्चालन भइरहेको छ । भदौ २३ गतेदेखि सुरु भएको शिविर आजसम्म सञ्चालन हुने र हालसम्म ५ सयभन्दा बढीको आँखा परीक्षण गरिसकिएको अस्पतालले जनाएको छ।