झापा । अनलाइन सट्टेवाजीको आरोपमा पक्राउ परेका बिर्तामोडका तीन युवामाथि अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ ।
विर्तामोड नगरपालिका वडा नं.४ स्थित वृक्ष क्याफेको परिसरमा पक्राउ परेका विर्तामोड नगरपालिका वडा नं.४ का वर्ष ४१ का किरण कन्दङवा, सोही ठाउँ बस्ने वर्ष ३८ का हेक्की श्रेष्ठ र वर्ष २७ का उज्जवल गुरागाँईलाई झापा जिल्ला अदालतबाट आज ५ दिनको म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हिजो बिहान ९.३० बजेतिर कानूनविपरीत अनलाइन सट्टेबाजी खेल्ने खेलाउने कार्य भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।
उनीहरुको साथबाट अनलाइन सट्टेबाजी गतिविधिमा प्रयोग भएको आशंका गरिएका विभिन्न विद्युतीय उपकरणहरू फेला परेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीले बताए । प्रहरी निरीक्षक अधिकारीले प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु विगतका लामो समयदेखि अनलाइन सट्टेबाजी सम्बन्धी खेलहरु खेलाउने कार्य गर्ने गरेको पाइएको जानकारी दिएका छन् ।























































