झापा । स्पेन फिफा विश्वकप फुटबल २०२६ मा विजयी लयमा फर्किएको छ । एटलान्टामा भएको खेलमा स्पेनले साउदी अरेबियालाई ४–० ले पराजित गरेको हो । आइतबार साउदी अरेबियालाई हराएपछि स्पेन समूह ‘एच’ मा ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।

पहिलो खेलमा पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएपछि आलोचनाको सामना गरेको स्पेनले साउदी अरेबियाविरुद्ध भने १० औँ मिनेटमै अग्रता बनाएको थियो ।

केप भर्डेविरुद्ध दोस्रो हाफमा मैदानमा प्रवेश गरेका लामिन यमाल यस खेलमा सुरुवाती ११ मा परेका थिए र उनले नै स्पेनका लागि पहिलो गोल गरेका थिए ।

स्पेनका फरवार्ड मिकेल ओयार्जबलका लागि केप भर्डेविरुद्धको खेल स्मरणीय बन्न सकेन । पहिलो ३० मिनेटसम्म उनले बल नै छुन नसकेको तथ्य ओप्टाले उल्लेख गरेको छ ।

१९६६ यता कुनै खेलाडीले आधा घण्टासम्म बल नछोएको यस्तो अवस्था पहिलोपटक देखिएको तथ्याङ्कमा जनाइएको छ ।

ओयार्जबल उनै खेलाडी हुन्, जसले युरो २०२४ को फाइनलमा इंग्ल्यान्डविरुद्ध विजयी गोल गरेका थिए ।

उनले नै गरेको दुई गोलका कारण स्पेन पहिलो हाफसम्म साउदी अरेबियाविरुद्ध ३–० ले अघि रहेको थियो । यमाललाई पहिलो गोलका लागि असिस्ट दिएका ओयार्जबललाई पहिलो हाफपछि परिवर्तन गरिएको थियो ।

दोस्रो हाफको चौथो मिनेटमै स्पेनले चौथो गोल थपेको थियो ।

स्पेनका मार्क कुकुरेलाको प्रहार साउदी अरेबियाका गोलकिपर मोहम्मद अल ओवाईसले जोगाउने प्रयास गरे पनि बल उनको शरीरमा लागेर डिफेन्डर हसन अल ताम्बाकीको खुट्टामा ठोक्किँदै आत्मघाती गोलमा परिणत भएको थियो । साउदी अरेबियाले पहिलो खेलमा उरुग्वेसँग १–१ को बराबरी खेलेको थियो ।