चितवन । चितवनको भरतपुर महानगरपालिका-९ स्थित पूर्व-पश्चिम राजमार्गमा आज बिहान एउटा विद्युतीय कार (इभी) मा आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ । शरीर पूर्ण रूपमा जलेका कारण मृतकको पहिचान हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बा.प्र. ०१-०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको हो ।घटनास्थलमा पुगेको दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । यद्यपि, आगो ठूलो भएकाले कार पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको छ । कारमा कसरी आगो लाग्यो भन्ने यकिन कारण खुल्न सकेको छैन।घटनाको विस्तृत विवरण र मृतकको पहिचान खुलाउन प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।