काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय FIFA ले अखिल नेपाल फुटबल संघ (ANFA) लाई जुन २४ देखि अर्को सूचना नभएसम्मका लागि निलम्बन गरेको छ । फिफाले सदस्य राष्ट्रहरूलाई पठाएको परिपत्रमार्फत एन्फाको सदस्यता निलम्बन गरिएको जानकारी गराएको हो।
निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सम्पूर्ण अधिकार गुमाएको छ। नेपाली राष्ट्रिय टोली, महिला टोली तथा क्लबहरूले फिफा र एएफसीअन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन्। साथै एन्फाका पदाधिकारी र सदस्यहरूले फिफा तथा एएफसीका विकास कार्यक्रम, तालिम र अनुदानबाट समेत वञ्चित हुनेछन् ।
फिफाको पत्रअनुसार एन्फा निलम्बनको अवधि खुलाइएको छैन। यद्यपि फिफा काउन्सिल ब्यूरोले अर्को फिफा कांग्रेसअघि नै आवश्यक सर्त पूरा भएमा जुनसुकै बेला निलम्बन फुकुवा गर्न सक्ने उल्लेख गरेको छ।
कसरी फुकुवा हुन्छ निलम्बन ?
फिफाको विधानअनुसार कुनै पनि सदस्य संघमाथिको निलम्बन हटाउन निलम्बनको कारण बनेका समस्या समाधान हुनुपर्छ। एन्फाको हकमा फिफाले औंल्याएका विषयहरू सम्बोधन गर्दै फुटबल प्रशासनमा स्वायत्तता कायम गरिएको, बाह्य हस्तक्षेप अन्त्य भएको तथा फिफाका निर्देशनहरू पालना गरिएको प्रमाणित गर्नुपर्ने हुन्छ।
फिफा र एएफसीले सन्तुष्ट हुने गरी आवश्यक सुधार तथा सहमति भएपछि फिफा काउन्सिल ब्यूरोले निलम्बन फुकुवा गर्ने निर्णय लिन सक्छ । यसका लागि अनिवार्य रूपमा अर्को कंग्रेस कुर्नु नपर्ने व्यवस्था रहेको छ।
निलम्बनका कारण नेपाली फुटबल अहिले अन्तर्राष्ट्रिय मञ्चबाट लगभग अलग भएको छ। राष्ट्रिय टोलीका आगामी खेल, क्लब प्रतियोगिता, अन्तर्राष्ट्रिय प्रशिक्षण तथा विकास परियोजनामा असर पर्ने देखिएको छ। यसले खेलाडी, प्रशिक्षक र समग्र नेपाली फुटबलको विकास प्रक्रियामा समेत गम्भीर प्रभाव पार्ने विश्लेषण गरिएको छ।
अब एन्फा, सम्बन्धित निकाय तथा सरोकारवालाले फिफाले उठाएका प्रश्नहरूको समाधान खोज्दै निलम्बन फुकुवाका लागि पहल गर्नुपर्ने अवस्था सिर्जना भएको छ।




















































