Screenshot_20260908_115512_VN - Video Editor

झापा । गत वर्ष भदौ २३ र २४ गते सडकमा उत्रिएको जेनजी पुस्ताको आक्रोश केवल तत्कालीन सरकारविरुद्धको प्रदर्शन थिएन । भ्रष्टाचार, राजनीतिक बेथिति, नातावाद–कृपावाद, बेरोजगारी, जवाफदेहिताको अभाव र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध उठेको त्यो आवाजले नेपालको राजनीतिलाई नै नयाँ मोडमा पुर्‍यायो ।

आन्दोलनको दबाबपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिए । त्यसपछि अन्तरिम सरकार गठन भयो । प्रतिनिधिसभा विघटन भयो र अन्ततः नयाँ निर्वाचनमार्फत राजनीतिक शक्ति सन्तुलन नै बदलियो ।

तर आज आन्दोलनको एक वर्ष पूरा हुँदा मूल प्रश्न फेरि त्यहीँ ठाउँमा आइपुगेको छ । जेनजीले सडकमा खोजेको परिवर्तन जनताको घरदैलोसम्म पुग्यो त भन्ने प्रश्न र कौतुहलता सर्वत्र छ ।

सरकार फेरियो, व्यवस्था कति फेरियो भन्ने तर्क सबैको मनमस्तिष्कमा भएको पाइन्छ ।

जेनजी आन्दोलन केवल सत्ता परिवर्तनको माग थिएन । तर सबैभन्दा पहिलो  देखिएको उपलब्धि नेपालको राजनीतिक सत्ता परिवर्तन हो । पुराना राजनीतिक दल र नेतृत्वप्रति बढ्दै गएको असन्तुष्टिले नयाँ राजनीतिक शक्तिलाई ठूलो अवसर दियो । २०२६ को निर्वाचनपछि नयाँ पुस्तासँग जोडिएको राजनीतिक शक्ति सरकारको नेतृत्वमा पुगेको छ ।

यसले नेपाली राजनीतिमा एउटा स्पष्ट सन्देश दिएको छ । मतदाताले परम्परागत राजनीतिक दललाई विकल्पहीन ठान्न छाडेका छन् । तर सरकार परिवर्तनलाई मात्र आन्दोलनको सफलता मान्ने कि नमान्ने भन्ने प्रश्न अझै बाँकी छ।

किनकि जेनजी आन्दोलनको माग कुनै एउटा प्रधानमन्त्री हटाउनु मात्र थिएन । आन्दोलनको केन्द्रमा सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र राजनीतिक जवाफदेहिता थिए ।

आन्दोलनअघि सबैभन्दा ठूलो जनगुनासो भ्रष्टाचार र राजनीतिक पहुँचका आधारमा राज्य सञ्चालन भएको थियो ।आन्दोलनपछि भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता दोहोरिएका छन् । प्रशासनिक सुधार, सरकारी सेवा डिजिटल बनाउने, मन्त्रालयको संख्या घटाउने तथा नागरिकलाई सेवा सहज बनाउने विषय अघि सारिएका छन् । तर यसको वास्तविक परीक्षा सरकारी कार्यालयको व्यवहारमा हुने देखिन्छ। कहिँकतै परिवर्तनका लागि निर्णय भएपनि अपेक्षानुसारको परिवर्तन भएको पाइदैन ।

कार्यालयमा अहिले पनि नागरिकले सेवा लिन अझै घुस दिनुपर्ने घुस नदिए धाउनुपर्ने र सास्ती पाउने क्रम यथावत छ ।

सरकारी कामका लागि राजनीतिक पहुँच आवश्यकता उत्तीनै भएको पाइन्छ । ठूला भ्रष्टाचारका घटनामा दोषीमाथि कारबाहीको दायरामा उभ्याएपनी भएपनी त्यस्ता घटना भ्रष्टाचारका घटना सोही क्रममा बढेको पाइन्छ ।

यी प्रश्नको जवाफ नआएसम्म सुशासनमा परिवर्तन भयो भनेर निष्कर्ष निकाल्न सक्ने र यति चै परिवर्तन भएछ भन्न सक्ने अवस्था भने छैन ।

हिजोको दिनमा बितृष्णाका कारण वैदेशिक रोजगारीमा युवाको बढ्दो पलायनलाई रोक्न र कति युवाले देशमा रोजगारी पाए भन्ने प्रश्न चिन्ह रहेकै छ ।

जेनजी आन्दोलनको अर्को ठूलो पृष्ठभूमि  नै नेपालमा भविष्य नदेख्ने युवा पुस्ताको निराशा हो । त्यो निराशा आन्दोलनपछी कति अवसरमा परिणत भयो ?  कति युवा पलायन हुन छोडे । वा अघिल्लो वर्षको तुलनामा पलायनको क्रम कति प्रतिशतले कम भयो ? नेपालमा रोजगारी भन्दा पलायनको संख्या बडोत्तरी भएको पाइन्छ ।

उद्योग धन्दालाई प्राथमिकतामा राखेर पुनः सञ्चालन गर्न सुरु गरेपनि त्यसले गति लिएको पाइदैन । उद्योग सञ्चालन गरेर पर्याप्त बजारको उचित ब्यवस्थापन गर्न नसक्ने अवस्थामा पुनः उहीँ गतिमा आउनेछ भन्ने कौतुहल छ ।

खण्डहर बनेका उद्योगलाई पुनर्जीवन दिनु सरकारको उपलब्धि भएपनि त्यसलाई ब्यवस्थापन गर्नु नै प्रभावकारी र जनताको हितमा हुन्छ ।

राजनीतिक परिवर्तनलाई आर्थिक अवसरमा रूपान्तरण गर्न नसकिए आन्दोलनको मूल भावना अधुरो रहनेछ।

आन्दोलनपछि प्रशासनिक सुधार र डिजिटल सेवामा जोड बढेको छ। नागरिक एप तथा सरकारी सेवाको डिजिटल विस्तारलाई सुधारको एउटा महत्वपूर्ण माध्यमका रूपमा अघि सारिएको छ। तर डिजिटल सेवा थपिनु मात्रै पर्याप्त हुँदैन।

फाइल रोक्ने, ढिलाइ गर्ने र अनावश्यक झन्झट दिने प्रवृत्ति घट्यो कि घटेन भन्ने बिषय पनि सुधारकै क्रममा गरिने प्रश्न हो ।

जेनजी आन्दोलनले पुराना दललाई सबैभन्दा ठूलो चुनौती दिएको क्षेत्र राजनीति हो । नयाँ पुस्ताले स्पष्ट रूपमा भनेको थियो । पुरानै अनुहार, पुरानै शैली र पुरानै राजनीतिक संस्कार स्वीकार्य छैन।

निर्वाचनपछि नयाँ राजनीतिक शक्तिको उदयले त्यसको प्रभाव देखाएको छ। तर अब चुनौती अझ ठूलो छ । नयाँ नेतृत्वले पुरानै राजनीतिक संस्कार दोहोर्याउँछ कि नयाँ अभ्यास स्थापित गर्छ ?

राज्यको स्रोत दुरुपयोग गर्ने प्रवृत्ति रोक्छ कि रोक्दैन ? यिनै प्रश्नले जेनजी आन्दोलनको वास्तविक उपलब्धि निर्धारण गर्नेछन्। जनताले प्रत्यक्ष के पाए?

उपलब्धिहरु:

राजनीतिक उपलब्धि:

सरकार परिवर्तन भयो, नयाँ राजनीतिक शक्ति उदायो र नयाँ पुस्ताको राजनीतिक प्रभाव स्थापित भयो ।

दोस्रो-संस्थागत उपलब्धि:

सुशासन, प्रशासनिक सुधार, डिजिटल सेवा र भ्रष्टाचार नियन्त्रणलाई सार्वजनिक बहसको केन्द्रमा ल्याइयो।

तेस्रो-जनताको प्रत्यक्ष उपलब्धि:

यहीँ पक्ष सबैभन्दा कमजोर वा अपूर्ण देखिन्छ । किनकि नागरिकको जीवनस्तर, रोजगारी, आम्दानी, सार्वजनिक सेवा र भ्रष्टाचार नियन्त्रणमा आएको परिवर्तनलाई अझै ठोस परिणाम र तथ्यांकबाट प्रमाणित गर्नुपर्ने अवस्था छ ।

आन्दोलनको मूल्य पनि ठूलो छ

जेनजी आन्दोलनको अर्को पाटो भनेको यसको मानवीय र आर्थिक क्षति हो ।

सरकारी अध्ययनले आन्दोलनलाई केवल युवाको क्षणिक आक्रोश नभई भ्रष्टाचार, कुशासन, आर्थिक अवसरको अभाव, सामाजिक अन्याय र संस्थागत असफलताविरुद्धको संरचनात्मक प्रतिक्रियाका रूपमा व्याख्या गरेको छ । सो अध्ययनले आन्दोलनबाट भएको आर्थिक क्षति ८४ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी रहेको उल्लेख छ ।

त्यसैले आन्दोलनको उपलब्धि केवल राजनीतिक परिवर्तनमा सीमित राख्न मिल्दैन । आन्दोलनमा ज्यान गुमाएका र घाइते परिवारले न्याय पाउनु पनि यसको महत्वपूर्ण परीक्षा हो ।

जेनजी आन्दोलनपछि जेनजीले के पाए भन्ने प्रश्न एकातर्फ छ । एक वर्षपछि हेर्दा जेनजी आन्दोलनले नेपाललाई नयाँ राजनीतिक सम्भावना भने दिएको छ।पुराना दललाई चुनौती दिएको छ । नयाँ पुस्तालाई राजनीतिको केन्द्रमा ल्याउने अवसर प्रदान गरेको पाइन्छ । सुशासन र जवाफदेहिताको बहसलाई राष्ट्रिय मुद्दा बनाएको छ।

निश्कर्श:

भ्रष्टाचार घट्यो, सरकारी सेवा सहज भयो, रोजगारी बढ्यो, राजनीतिक नियुक्तिमा योग्यता स्थापित भयो र राज्य नागरिकप्रति जवाफदेही बन्यो भने जेनजी आन्दोलन नेपालको राजनीतिक इतिहासमा एउटा सफल परिवर्तनका रूपमा स्थापित हुने क्रममा रहेको पाइन्छ ।तर यदि केही अनुहार मात्र फेरिए, सत्ता सञ्चालनको शैली उस्तै रह्यो र जनताको समस्या उस्तै रह्यो भने इतिहासले पुनः माफीदिइने छैन ।