काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुस मागेको आरोपमा नापी कार्यालयका दुई कर्मचारीलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नापी कार्यालय कलङ्कीका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो  । आयोगले तत्कालीन सर्भेक्षक अमितकुमार श्रेष्ठ र नापी अधिकृत हिरालाल पाँडेलविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । उनीहरूले चन्द्रागिरि–९ स्थित जग्गा हालसाविक गरी प्लट मिलान गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आयोगले जनाएको छ । अनुसन्धानका क्रममा दुवैले सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिँदै घुसका लागि बार्गेनिङ गरेको तथा रकम कार्यालय सहयोगीमार्फत लिन सहमति जनाएको खुलेको आयोगको भनाइ छ ।आयोगले दुवैलाई भ्रष्टाचार निवारण ऐनअनुसार ५० हजार रुपैयाँ बिगो, सोही बराबर जरिवाना र कैद सजायको मागदाबी गरेको छ ।