काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच द्विपक्षीय भेटवार्ता भएको छ । आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । बाढी प्रभावित क्षेत्रकाे पुनःस्थापनामा आफ्नो सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउन इच्छुक रहेको बताएका थिए ।

जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकहरूले भोग्नुपरेको जनधन तथा पूर्वाधारको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै मन्त्री छो ह्युनले जलवायु परिवर्तनका असर र त्यसबाट सिर्जित विपद्का विषयमा विश्व समुदायलाई थप संवेदनशील बनाउन नेपाल र गणतन्त्र कोरियाले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

भेटमा नेपालमा हालै भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा महत्त्वपूर्ण छलफल भएको छ ।

द्विपक्षीय भेटवार्ताका क्रममा गत २६ अगस्टमा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका दक्षिण कोरियाका नागरिकहरूको खोजी तथा उद्धार कार्यका विषयमा पनि गम्भीर छलफल भएको छ ।

उनले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप) लगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेका चुनौती र क्षतिका विषयमा संयुक्त रूपमा आवाज उठाउनुपर्ने धारणा व्यक्त गरेका थिए ।

साथै, नेपालले जलवायु परिवर्तनबाट भएको क्षतिका लागि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गर्नुपर्ने वित्तीय सहयोगका विषयमा कोरियाले समेत आफ्नो तर्फबाट आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भेटवार्ताका क्रममा दुवै मन्त्रीहरूले नेपाल र कोरियाबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास, समझदारी र सहकार्यलाई अझ सुदृढ एवं व्यापक बनाउँदै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन निकट सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।