काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आएका थानी मंगलबार दिउँसो पौने ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनलाई विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन् ।

दक्षिण एसियाको भ्रमणमा रहेका कतारी अमिर बंगलादेशबाट सीधै काठमाडौंस्थित त्रिभुवन विमानस्थल ओर्लिएका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ । मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको हो। 

कतार नेपालीहरूको प्रमुख श्रम गन्तव्यमध्ये एक हो । यसकारण पनि कतारी अमिरको नेपाल भ्रमणका क्रममा महत्वपूर्ण विषयहरूमा द्विपक्षीय वार्ता र सम्झौताहरूमा हस्ताक्षर हुने जनाइएको छ। अमिरसँगै कतार सरकारका मन्त्री र उच्च अधिकारीहरू समेत टोलीमा सम्मिलित छन् । दुई देशबीचको बार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले वार्ता गर्नेछन्। 

कतारी अमिरले आज नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा शिष्टाचार भेट गर्नेछन् । राष्ट्रपति पौडेलले उनको सम्मानमा साँझ राजकीय भोजको आयोजना गरेका छन्। त्यस्तै कतारका अमिर शेख थानीले बुधबार प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्नेछन्। वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ। त्यसपछि अपरान्ह उनी कता फर्किनेछन्।