झापा । झापाको मेचीनगर–१२ स्थित `युवा समूह´ले सामाजिक सेवा तथा जनचेतनामूलक अभियान अन्तरगत दुई वटा सामुदायिक विद्यालयका छात्राहरूलाई बिहीबार स्वास्थ्य सामग्री बितरण गरेको छ ।
पछिल्लो समय सामाजिक गतिविधिमा सक्रिय बन्दै आएको समूहले विद्यालयमा अध्ययनरत किशोरी छात्राहरुलाई महिनावारीसम्बन्धी सामग्री बितरण गरेको हो ।
मेचीनगर-१२ स्थित शहरेडाँगीको श्री सरस्वती बालकल्याण माबिमा ५०० थान र मेचीनगर-११ स्थित बालभद्र जनता माध्यमिक विद्यालयमा ४०० थान महिनावारीसम्बन्धी सामग्री वितरण गरिएको समुहका संयोजक अमित खम्बुको भनाई छ । समूहबाट संकलित रकम ६२ हजार मूल्य बराबरको उक्त सेनिटरी प्याड बितरण गरिएको समुहका संयोजक खम्बुले जानकारी दिए ।
स्वास्थ्य सामग्री वितरण कार्यक्रममा छात्राहरूलाई महिनावारी स्वास्थ्य, सरसफाइ तथा व्यक्तिगत स्वच्छताबारे जानकारीसमेत दिइएको थियो।
महिनावारी प्राकृतिक स्वास्थ्य प्रक्रिया भएकाले लाज, डर वा संकोच नमानी खुला रूपमा जानकारी गराउन सहभागी छात्राहरुलाई स्वास्थ्यकर्मीद्वय मेचीनगर-११ कि अञ्चला निरौला र मेचीनगर-१२ कि सरिता मेचेले सचेत गराएका थिए ।
स्थानीय युवाहरूको सहभागितामा समूहले रक्तदान, बिरामीको उपचारका लागि सहयोग संकलन, सार्वजनिक फलैँचा निर्माण, लागूऔषधविरुद्ध जनचेतना तथा किशोरी स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गर्दै आएको छ । यसअघि देउसीभैलोबाट संकलित रकमले विद्यार्थीका लागि स्कुलको बस पर्खाइ तथा सार्वजनिक क्षेत्रमा फलैँचाको निर्माण पूरा गरी गत २०८१ पुस २४ गते उद्घाटन समेत गरेको समूहले जनाएको छ।
त्यस्तै समूहले बिरामीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले विभिन्न समयमा आर्थिक सहयोग संकलन अभियानसमेत सञ्चालन गरेको छ । पदम विश्वकर्माको उपचारका लागि चारआली युथसँगको सहकार्यमा रु. १४ हजार संकलन गरी सहयोग पुर्याएको थियो । त्यस्तै, १२ वर्षीय अर्जुन नेपाल र क्यान्सर पीडित सुनिता शेर्पाको उपचारका लागि झापा, इलाम, फिदिम तथा ताप्लेजुङका विभिन्न स्थानमा सहयोग अभियान सञ्चालन गरी उपचारमा सहयोग गरेको थियो।
मेचीनगर–१३ की रिता राईको उपचारका लागि सञ्चालित ‘रिता राई बचाउ अभियान’ बाट रु. २८ हजार तथा सुरज मगरको उपचारका लागि चारआली युथसँगको सहकार्यमा सञ्चालित ‘सुरज बचाउ अभियान’ बाट रु. ५५ हजार सहयोग संकलन गरिएको समूहले जनाएको छ।
समूहले नियमित सामाजिक अभियानका क्रममा विभिन्न समयमा रक्तदान गर्दै आएको छ ।
सामाजिक सेवासँगै युवालाई सिर्जनात्मक गतिविधिमा जोड्न समूहले होलीको अवसरमा ‘होली लाइभ म्युजिकल कन्सर्ट’ तथा माघे सङ्क्रान्तिमा सांस्कृतिक कार्यक्रमसँगै लागूऔषधविरुद्ध जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको छ।
समुदायको आवश्यकता पहिचान गरी ‘युवाको एकता, समाजका लागि सेवा’ भन्ने भावनाका साथ सामाजिक अभियानलाई निरन्तरता दिने समूहले जनाएको छ।























































