मेचीनगर । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि झापाको मेचीनगर–१२ निवासी घनश्याम चिमरिया र उहाँकी धर्मपत्नी कमला चिमरियाले रु. १ लाख ११ हजार १ सय ११ आर्थिक सहयोग गरेका छन् । चिमरिया दम्पतीले बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले बैंकको क्यूआरमार्फत रु. १ लाख ११ हजार १ सय ११ आर्थिक सहयोग गरेका हुन् । विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नु सामाजिक दायित्व भएको भन्दै उनीहरूले आफ्नो तर्फबाट सहयोग गरेका हुन् ।
रितिका डेरि उद्योग तथा व्यवसाय क्षेत्रमा सक्रिय चिमरिया दम्पतीले पछिल्लो समय सामाजिक क्षेत्रमा समेत निरन्तर योगदान गर्दै आएका छन् । विभिन्न सामाजिक तथा मानवीय कार्यमा सहयोग गर्दै आएका उनीहरूले विपद्का बेला पनि आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गरेका हुन् । रसुवामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि देशभरबाट उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटिरहेको छ । यही क्रममा चिमरिया दम्पतीले पनि बाढीपीडितको उद्धार तथा राहतका लागि सहयोग गरेका हुन् । उद्योगीका रूपमा आर्थिक गतिविधिमा योगदान पुर्याउँदै आएका चिमरिया दम्पतीको सामाजिक कार्यमा समेत सक्रिय सहभागिताले निजी क्षेत्रले विपद्का समयमा निर्वाह गर्नुपर्ने सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ । झापामा विभिन्न निजी क्षेत्रले बाढीपीडितको उद्दारका लागि नगद तथा राहत सहयोग जुटाउदै आएका छन् ।