झापा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गरेपछि देशभरबाट राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटिरहेका बेला झापाका स्थानीय तहहरू पनि आर्थिक सहयोगमा जुटेका छन् । तर, झापाका पालिकाहरूबीच सहयोग रकममा भने ठूलो अन्तर देखिएको छ ।
झापा गाउँपालिकाले बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख २८ हजार २८८ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । उक्त रकम गाउँपालिकाको विपद् व्यवस्थापन कोष, जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट संकलन गरिएको छ ।
झापा गाउँपालिकाका अनुसार दुई लाख रुपैयाँ विपद् व्यवस्थापन कोषबाट, ६० हजार रुपैयाँ जनप्रतिनिधिबाट, सात लाख ३८ हजार ६७९ रुपैयाँ कर्मचारीबाट र १५ लाख २९ हजार ४०९ रुपैयाँ शिक्षकबाट संकलन गरिएको छ । यसरी पालिकाले एकमुष्ट २५ लाखभन्दा बढी रकम बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि पठाउने निर्णय गरेको हो ।
झापामा सार्वजनिक भएका विवरणअनुसार बुद्धशान्ति गाउँपालिकाले झापा गाउँपालिकाभन्दा अझ बढी ३२ लाख ५५ हजार १५४ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । विपद् व्यवस्थापन कोषको ५ लाख, जनप्रतिनिधिबाट ९९ हजार, गाउँपालिका कर्मचारीबाट १० लाख २० हजार, सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीबाट १६ लाख ३६ हजार १५४ संकलित रकम एकमुष्ठ सहयोग गरेको हो ।
त्यस्तै दमक नगरपालिकाले ३१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।अर्जुनधारा नगरपालिकाले २१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएको छ । नगर प्रमुख बलदेवसिंह तामाङको आह्वानमा बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बिर्तामोड नगरपालिकाले भने पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको सार्वजनिक विवरणमा उल्लेख छ ।
यसरी सार्वजनिक रूपमा पुष्टि भएका पालिकाहरूलाई हेर्दा बुद्धशान्ति ३२ लाख ५५ हजार १५४ रुपैयाँसहित अगाडि देखिन्छ भने दमक ३१ लाखसहित दोस्रो स्थानमा छ । झापा गाउँपालिका २५ लाख २८ हजार २८८ रुपैयाँसहित तेस्रो तहमा देखिन्छ । त्यसपछि अर्जुनधारा २१ लाख, भद्रपुर ११ लाख र बिर्तामोड पाँच लाखको सहयोग गर्ने निर्णयमा छन् ।
सबैभन्दा ठूलो बजेट भएको मेचीनगरको सहयोग कति ? झापामा स्थानीय तहको बजेटको आकार हेर्दा एउटा महत्वपूर्ण प्रश्न पनि उठ्छ । झापाका सबैभन्दा ठूलो बजेट भएको पालिकाले विपद्का बेला कति सहयोग गर्यो ? भन्ने प्रश्नले बजारमा व्याप्त चर्चा छ । बिपद परेको समयमा आम नागरिकले यथासक्य सहयोग पुर्याउदै आएको बेला धेरै बजेट भएको नगरले किन सहयोग गर्न ढिलाई गर्यो ? मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकीले बाढी पीडितका लागि सहयोग गर्ने जानकारी दिए । कर्मचारी र जनप्रतिनिधिको सहयोग जुट्ने क्रममा रहेकाले एक मुष्ठ सहयोग गरिने प्रमुख बुढाथोकीको भनाई छ ।
आर्थिक वर्ष २०८२/८३ मा झापाका १५ स्थानीय तहमध्ये मेचीनगर नगरपालिकाले सबैभन्दा ठूलो १ अर्ब ८२ करोड ६ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको थियो भने बिर्तामोड १ अर्ब ५१ करोड ८३ लाख र दमक करिब १ अर्ब ४७ करोडको बजेटसहित त्यसपछि थिए ।
यही ठाउँमा झापाका स्थानीय तहको विपद् संवेदनशीलता र सामाजिक उत्तरदायित्वमाथि प्रश्न उठ्छ ।
बजेटको आकार ठूलो हुनु मात्रै पर्याप्त हो कि राष्ट्रिय विपत्तिका बेला त्यसको अनुपातमा मानवीय सहयोग पनि देखिनुपर्छ ? यो प्रश्न अहिले झापाका स्थानीय तहको सहयोगलाई तुलना गर्दा स्वाभाविक रूपमा उठेको छ । झापामा बाढीपीडितका लागि स्थानीय तह मात्र होइन, निजी क्षेत्र, सहकारी, सामाजिक संस्था तथा विभिन्न संघसंस्थाले पनि सहयोग तथा राहत संकलनमा जुटेका छन् ।























































