काँकरभिट्टा । भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि सिक्किम सरकारले पठाएको तीन ट्रक राहत सामग्री कानुनी झन्झटका कारण करिब २० घण्टापछि प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ ।

सिक्किम सरकारले स्वास्थ्यकर्मीसहित स्वास्थ्य सामग्री, खाद्यान्न तथा लत्ताकपडा लिएर पठाएको राहत टोली सोमबार साँझ नेपालको पूर्वी नाका काँकरभिट्टा आइपुगेको थियो । तर, विदेशबाट आउने ढुवानी तथा राहत सामग्रीको चेकजाँचका लागि अर्थ मन्त्रालयको अनुमति अनिवार्य हुने व्यवस्थाका कारण राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्‍याउन ढिलाइ भएको हो ।

मेची भन्सार कार्यालय काँकरभिट्टाले राहत सामग्रीको विवरणसहितको पत्र सोमबार साँझ नै अर्थ मन्त्रालयमा इमेलमार्फत पठाएको जनाएको छ । मन्त्रालयबाट राहत सामग्री बाढी प्रभावित क्षेत्रसम्म ढुवानीका लागि अनुमति तथा पासको व्यवस्था भएपछि मंगलबार अपराह्न ४ः४५ बजे तीनवटै ट्रक मेची भन्सार कार्यालयबाट छुटेको भन्सार कार्यालयका प्रवक्ता माङ्कल राईले जानकारी दिए । प्रबक्ता राईका अनुसार सरकारले ९० दिनका लागि जुनसुकै देशबाट आएको राहत सामग्रीमा भन्सार छुट गरेको छ ।

राहत टोलीमा लत्ताकपडा, खाद्यान्न र स्वास्थ्य सामग्री बोकेका तीन वटा ट्रकसहित ३५ जनाको टोली रहेको छ । टोलीमा स्वास्थ्यकर्मीसहित उद्धार, राहत तथा पुनःस्थापनाका लागि खटिएका प्रतिनिधि सहभागी छन् । 

भारतस्थित पानीट्याङ्की कस्टमले राहत सामग्रीको चेकजाँचमा करिब तीन घण्टा लगाएको थियो । त्यसपछि टोली सोमबार साँझ करिब ६ः३० बजे काँकरभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेको थियो ।

‘हिमालयन ऐक्यबद्धता नेपालका लागि सिक्किम’ उल्लेख गरिएको ब्यानरसहित सिक्किम क्रान्तिकारी मोर्चा पार्टी, गान्तोक, सिक्किमको पहलमा उद्धार, राहत तथा पुनःस्थापनाको टोली नेपाल आएको हो ।

सिक्किमका मुख्यमन्त्रीको निर्देशनमा विधायक तथा सल्लाहकार सञ्जित खरेल र युवा अध्यक्ष लाक्पा मोक्तान (जोजो) को नेतृत्वमा उद्धार, राहत तथा पुनःस्थापनाको अभियान सञ्चालन गरिएको अभियानका अध्यक्ष सोनाम नोरगे लाचुङ्पाले जानकारी दिए ।

टोलीमा फुर्बा रिन्जिङ शेर्पा, सीएलसी अध्यक्ष सञ्जीव गुरुङ, एसकेएम बाइकर्स अध्यक्ष तासी लेप्चा (रोङकुप), ओएसडी दिपेन सुब्बा, एपीएस पाक्योङका विशाल शर्मा, सदस्य सपान्त प्रधान, गान्तोक जिल्ला संयोजक विशाल क्षेत्री, सरण प्रधान, अध्यक्ष तेन्जिङ दोर्जे भुटिया, तुलमान राईलगायत सहभागी छन् ।

त्यसैगरी मेडिकल टोलीमा पूर्व विधायक डा. मेचुङ भुटिया, डा. संगीता भण्डारी, डा. एडेन भुटिया, डा. बिदुत राई, अनु तामाङ र रिक्जिङ नोर्बु भुटियासहित स्वास्थ्यकर्मी सहभागी रहेको जनाइएको छ । टोलीसँगै सञ्चारकर्मी प्रकाश प्रधान, सन्तबहादुर राई, गार्जामान सुब्बा र भुपाल दार्जीलगायत पनि आएका छन् ।