झापा । झापाको मेचीनगर-१४ मा रहेको सिंगापुर बेभरेज नेपालले रसुवाका बाढीपीडितको राहत तथा उद्धारका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ ।रसुवालगायत जिल्लामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सिंगापुर बेभरेज नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा बाढी तथा विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । साथै, घाइते तथा प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता प्रकट गरिएको छ ।

विषम परिस्थितिमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम सहयोग गर्न लागिएको कम्पनीका सञ्चालक रमेश शर्माले जानकारी दिए । सहयोगमा कम्पनी तथा सम्पूर्ण कर्मचारीहरूको संयुक्त योगदान रहने बताइएको छ । राष्ट्र र नागरिकमाथि परेको कठिन घडीमा सामूहिक ऐक्यबद्धता तथा सामाजिक उत्तरदायित्व स्वरूप सहयोग गर्न लागिएको सिंगापुर बेभरेजेज नेपालले जनाएको छ ।