काठमाडौं । भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म ७५२ जनाले ज्यान गुमाएका छन् भने २ हजार ५०२ जना अझै सम्पर्कविहीन रहेका छन् ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज दिउँसो १:०० बजे सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतको काम भइरहेको छ । मृत्यु हुने ७५२ जनामध्ये सबैभन्दा बढी चितवनमा २५९ जना फेला परेका छन् । यस्तै, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, गोर्खामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ । हालसम्म २३९ जना घाइते भएका छन्, जसको उपचार भइरहेको छ । सम्पर्कविहीन हुनेहरूको सङ्ख्या २,५०२ पुगेको छ । जसमा जलविद्युत आयोजनाबाट मात्र ९३३ जना र विदेशी नागरिक ५९२ जना रहेका छन् । रसुवाबाट ५६२ र नुवाकोटबाट ११५ जना बेपत्ता भएका छन् । सुरक्षाकर्मीतर्फ नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५ र सशस्त्र प्रहरीका १३ जना सम्पर्कविहीन रहेका छन् । बाढीमा फसेका ८,७३० जनालाई सुरक्षाकर्मी र विभिन्न निकायको सक्रियतामा उद्धार गरिएको छ । नेपाली सेनाले २,९७४, नेपाल प्रहरीले २,६९९ र सशस्त्र प्रहरीले ३,०५७ जनाको उद्धार गरेका छन् । विशेषगरी भदौ १२ र १३ गते जलविद्युतको सुरुङबाट २७९ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । हवाई उद्धारमार्फत २३६ विदेशी र २,८४५ नेपालीको ज्यान जोगाइएको छ । हालसम्म कुल ३६३ हवाई उडान भएका छन्, जसमध्ये आज मात्रै ४१ उडान भरिएका छन् । विपद् व्यवस्थापनका लागि कुल १९,८९५ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेनाका ८,३९९, नेपाल प्रहरीका ७,२९३ र सशस्त्र प्रहरी बलका ४,२०३ जना खटिएका छन् । सरकारले प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने क्रम जारी राखेको छ । हालसम्म ३७ ट्रक र १३ बोलेरोमार्फत खाद्यान्न र गैरखाद्यान्न सामग्री पठाइएको छ भने हेलिकोप्टरबाट ८ वटा उडानमार्फत राहत पुर्‍याइएको छ । भदौ १३ गते मात्रै उत्तरगया र धुन्चेमा २ टन खाद्यान्न पठाइएको प्राधिकरणले उल्लेख गरेको छ । 

नगद राहत घोषणा: 

नेपाल सरकारले प्रभावित जिल्लाहरूका लागि नगद राहतको घोषणा गरेको छ । रसुवा र नुवाकोट जिल्लालाई १/१ करोड रुपैयाँ र धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ । साथै, १५ वटा पालिकालाई ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ । 

इन्धनको अवस्था र शव व्यवस्थापन: प्रभावित क्षेत्रमा हाल ३६ हजार लिटर डिजेल, २५ हजार लिटर पेट्रोल र १० हजार लिटर हवाई इन्धन मौज्दात रहेको छ । पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको छ ।