धाइजन । यस वर्षको हरितालिका तीज कार्यक्रम स्थगित गर्दै झापाको मेचीनगर–१४ को `धाइजनमोड छोरी बुहारी समूह´ ले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपीडितको उद्धार तथा राहतका लागि रकम प्रदान गरेको छ ।
समूहले तीज कार्यक्रमका लागि संकलन गरेको २० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । समूहले आइतबार लक्ष्मी सनराइज बैंकमार्फत कोषमा रकम जम्मा गरेको युवा समाजसेवी विजय उप्रेतीले जानकारी दिए । रसुवाको भोटेकोशी तथा आसपासका क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति भएको र सयौं परिवार प्रभावित बनेपछि तीज कार्यक्रम नै नगर्ने निर्णय गर्दै संकलित रकम उद्धार तथा राहतका लागि प्रदान गरिएको समूहकी अध्यक्ष नम्रता कडरियाले बताइन् ।
‘सुरुमा थोरै सदस्य थियौं । अहिले समूहमा २७ जना सदस्य छौं,’ अध्यक्ष कडरियाले भनिन्, ‘भदौ १२ गते तीज कार्यक्रम गर्ने तयारी थियो । तर, भदौ १० गते बिहानै आएको बाढीले त्यहाँको अवस्था गम्भीर बनाएको खबर आएपछि तीज नमनाउने निर्णय गर्यौं ।’
बाढीमा परेर कतिपयले ज्यान गुमाएका छन् भने केही अझै बेपत्ता छन् । विपद्को यस्तो अवस्थामा तीजको उत्सवभन्दा पीडितको उद्धार तथा राहतमा सहयोग गर्नु उचित ठानेर रकम सहयोग गरिएको अध्यक्ष कडरियाले बताइन् ।
चार वर्षअघि पुष्पा गौतमको अध्यक्षतामा स्थापना भएको धाइजनमोड छोरी बुहारी समूहले सामाजिक तथा मानवीय क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको छ । समूहले यसअघि पनि बाढी तथा अग्निपीडितलाई राहत प्रदान गर्नुका साथै उपचार नपाएर समस्यामा परेकाहरूलाई अस्पतालसम्म पुर्याएर उपचारमा सहयोग गर्दै आएको छ ।
त्यसैगरी समूहले आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीलाई विद्यालयमै पुगेर नगदसहित शैक्षिक सामग्री र झोला वितरण गर्दै आएको छ ।
समूहले नियमित रूपमा मासिक बचतसमेत गर्दै आएको छ । प्रत्येक सदस्यले मासिक दुई सय रुपैयाँ बचत गर्ने गरेका छन् । त्यसमध्ये एक सय रुपैयाँ सामाजिक गतिविधिमा खर्च गर्ने र बाँकी एक सय रुपैयाँ सम्बन्धित सदस्यको नाममा बचत गर्ने गरिएको अध्यक्ष कडरियाले जानकारी दिइन् ।
समूहले चाडपर्वका अवसरमा देउसी–भैलो खेली संकलन भएको रकमसमेत सामाजिक कार्यका लागि प्रयोग गर्दै आएको जनाएको छ ।
तीजको अवसरमा हुने मनोरञ्जन तथा उत्सवलाई स्थगित गर्दै विपद्मा परेका नागरिकको उद्धारका लागि रकम सहयोग गर्ने समूहको निर्णयले सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको छ ।























































