झापा । मोरङको रतुवामाई नगरपालिका–४ भद्रचोकस्थित हुलाकी सडकमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको गौरीगन्ज गाउँपालिका–६ आठमोजाका २८ वर्षीय वरुणकुमार राजवंशी रहेका छन् । विराटनगरबाट झापाको गौरीगन्जतर्फ आउँदै गरेको बा ७३ प ४२१६ नम्बरको मोटरसाइकल राति करिब १०ः३५ बजे आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए ।
प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाएको छ।प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मादक पदार्थ सेवन (मापसे) गरेर मोटरसाइकल चलाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।






















































