झापा । झापाको कमल गाउँपालिका–३ मा गोमन सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कमल–३ निवासी ज्ञानबहादुर लिम्बुकी श्रीमती ४० वर्षीया सरस्वती मगर लिम्बुलाई आइतबार साँझ करिब ७:५० बजे आफ्नै घरको भान्सा कोठामा खाना पकाउने क्रममा कोब्रा सर्पले डसेको थियो।

सर्पले डसेपछि उनलाई तत्काल नेपाल रेडक्रस सोसाइटी दमकमा उपचारका लागि पुर्‍याइएको थियो । घटनाबारे राति १०:२५ बजे इलाका प्रहरी कार्यालय दमकमा जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल तथा अस्पताल पुगेको थियो । उपचारकै क्रममा राति १०:४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

वर्षायाम सुरु भएसँगै झापा लगायत तराईका जिल्लामा विषालु सर्पको बिगबिगी बढ्न थालेको छ । विशेषगरी बिषालु सर्प गोमन, करेत लगायतका विषालु सर्प घरभित्र र वरिपरि देखिन थालेपछि स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।