झापा । झापाको मेचीनगर नगरपालिका–७ गोमनसरीस्थित कुलोमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार अपराह्न करिब ३:४५ बजे स्थानीयवासीले कुलोमा एक पुरुष घोप्टो परेर मृत अवस्थामा रहेको जानकारी प्रहरी चौकी सतिघट्टालाई दिएका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा मृतक करिब ६–७ वर्षअघि भारतको आसामबाट आएर सोही क्षेत्रमा विभिन्न काम गर्दै बस्दै आएका अन्दाजी ५० वर्षीय सञ्जय सोरेन रहेको खुलेको छ। उनको नेपालमा स्थायी बसोबास नभएकाले काम गर्ने घरमै बस्ने गरेका थिए।
मृतककी १२ वर्षीया छोरी सुमी सोरेन भने मेचीनगर–७ कै एक स्थानीयको घरमा बस्दै आएको प्रहरीले जनाएको छ।
प्रहरीले साँझ कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र पोस्टमार्टम प्रतिवेदनपछि मृत्युको वास्तविक कारण स्पष्ट हुने प्रहरीले जनाएको छ।























































