गौरीगंज । गौरीगंज गाउँपालिका–४ बाईसे टोलमा सर्पको टोकाइबाट एक वृद्धाको मृत्यु भएको छ । गौरीगंज–४ बाईसेटोल बस्ने ८८ वर्षीया पञ्चमाँया शेर्मा कुखुराको खोरको ढोका लगाउने क्रममा खोर नजिकै रहेको इँटाको चाङबाट निस्किएको विषालु सर्पले दाहिने हातको माझी औँलामा टोकेको थियो ।
सर्पको टोकाइबाट घाइते भएकी शेर्मालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो । अस्पतालमा उपचार भइरहे पनि उनको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा रहेको बताइएको थियो ।
उपचारकै क्रममा सोही दिन राति करिब १०ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । हाल मृतकको शव अस्पतालमै रहेको जनाइएको छ ।
घटनाबारे थप अनुसन्धान तथा आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । सर्पदंशका घटना वर्षायाममा बढ्ने भएकाले स्थानीयवासीलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।




















































