झापा । प्रहरीले अनुसन्धान जारी गरेको समयमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अपुष्ट सूचना तथा अनुमानका आधारमा सामग्री प्रकाशन भएको भन्दै जिल्ला प्रहरी कार्यालय झापाले ध्यानाकर्षण गराएको छ। झापा दमककी २१ वर्षीया रमा तिवारी हत्या प्रकरणमा प्रहरीको अनुसन्धानलाई प्रभावित पार्ने गरी अपुष्ट विवरण सार्वजनिक नगर्न सञ्चारमाध्यम र सर्वसाधारणलाई आग्रह गरेको हो ।जिल्ला प्रहरी कार्यालय झापाले आज जारी गरेको प्रेस विज्ञप्तिमा दमक–१० को सेतुमारी क्षेत्रमा रहेको रतुवा खोलाको पुलमुनि फेला परेकी दमक–८ बसन्तटोल निवासी रमा तिवारीको हत्या सम्बन्धी अनुसन्धान इलाका प्रहरी कार्यालय दमकबाट जारी रहेको जनाएको छ। अनुसन्धानकै क्रममा रहेका तथ्य, प्रमाण र विवरणहरू आधिकारिक स्रोतबाट पुष्टि नभई अनुमान, अड्कल र अपुष्ट सूचनाका आधारमा समाचार तथा सामग्री प्रकाशन–प्रसारण भएकोप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।प्रहरीका अनुसार अनुसन्धान प्रचलित कानुनबमोजिम निष्पक्ष, तथ्यपरक र व्यावसायिक ढंगबाट भइरहेको छ। अनुसन्धानसँग सम्बन्धित संवेदनशील विवरणहरू समयअघि सार्वजनिक हुँदा अनुसन्धान प्रक्रियामा प्रतिकूल असर पर्नुका साथै न्याय सम्पादन प्रक्रियामा समेत प्रभाव पर्न सक्ने भएकाले आधिकारिक जानकारीलाई मात्र आधार बनाउन आग्रह गरिएको छ।


















































