मेचीनगर । झापाको मेचीनगर नगरपालिका–७ स्थित संजय सिमेन्ट फ्याक्ट्री अगाडि स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना युवाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार साँझ करिब ५ः२० बजे गोमनसरीबाट धुलाबारीतर्फ जाँदै गरेको होलिबेल इङ्गलिस बोर्डिङ स्कुलको मे १ क ३९१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे ९ प ९९०४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार भारतको किशनगञ्ज गलगलिया बस्ने ३२ वर्षीय अजय माझी र झापाको मेचीनगर नगरपालिका–७ बस्ने २१ वर्षीय अजय राजवंशी गम्भीर घाइते भएका थिए । उनीहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा साँझ ५ः५० बजे चिकित्सकले दुबैलाई मृत घोषणा गरेका हुन् ।
दुर्घटनापछि बस चालक मेचीनगर नगरपालिका–११ निवासी ४५ वर्षीय निरेन धिमाललाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा संलग्न बस र मोटरसाइकल इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।


















































