झापा । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले सञ्चारमाध्यमको नाम दुरुपयोग गर्दै व्यवसायी तथा उद्योगीलाई धम्क्याएर रकम असुल्न खोज्नेलाई कडा कार्वाहीको माग गरेको छ ।

समितिद्वारा जारी प्रेस विज्ञप्तिमा झापाका केही सञ्चारमाध्यमको नाम जोडेर गलत गतिविधि भइरहेको उल्लेख गर्दै पत्रकारिता पेशाको विश्वसनीयता माथि आघात पुग्ने कार्य तत्काल रोक्न आग्रह गरिएको छ ।IMG-20260602-WA0009विज्ञप्तिअनुसार प्रेस सेन्टर नेपाल झापाका सदस्य चुडामणि शर्मा (सीएम) सँग सम्बन्धित अनलाइन सञ्चारमाध्यमको नामसमेत जोडेर रकम असुल्न खोजिएको भन्दै संस्थाले आपत्ति जनाएको हो । समितिले यस्ता गतिविधिले समाजमा स्थापित सञ्चार संस्था, पत्रकार तथा पत्रकारिताको गरिमामाथि नकारात्मक असर पार्ने जनाएको छ ।

प्रेस सेन्टर नेपाल झापाले विशेषगरी झापा हल्दिबारी गाउँपालिका–१ निवासी नितेश ओलीले उद्योगी तथा व्यवसायीलाई धम्क्याउँदै रकम मागेको भन्ने विषय सार्वजनिक भएको उल्लेख गरेको छ । केही अनलाइन मिडिया तथा सञ्चार संस्थाको नाम प्रयोग गरेर डर, त्रास र दबाब सिर्जना गरिएकोप्रति समितिले चिन्ता व्यक्त गरेको छ ।

समितिले पत्रकारिता र सञ्चारमाध्यमको मर्यादाविपरीत हुने कुनै पनि अवैध गतिविधि गम्भीर अपराध भएको उल्लेख गर्दै यस्ता कार्य रोक्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरिएको प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाका सचिव प्रकाश उप्रेतीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी नेपाल पत्रकार महासंघ र प्रेस क्लब सुरुङाले पनि छुट्टाछुट्टै प्रेस बिज्ञप्ति निकालेर दोषीमाथि कानुनी कार्वाही गर्न प्रशासनसमक्ष जोडदार माग गरेको छ ।