झापा । झापाको मेचीनगर नगरपालिका–१५ निलकोठीमा सामान्य विवादका कारण भएको कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
आइतवार राति १० बजेको समयमा स्थानीय ५५ वर्षीय रुद्र श्रेष्ठ र सोही स्थानमा रहेको माँ पाथीभारा प्लाई फ्याक्ट्रीमा कार्यरत दमौली घर बताउने ३५ वर्षीय रामबहादुर गौतमबीच सामान्य भनाभन तथा वादविवाद भएको थियो ।
उक्त विवाद बढ्दै जाँदा भएको कुटपिटबाट रुद्र श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेको र उनी बोल्न नसक्ने अवस्थामा पुगेका थिए ।
घटनाबारे आज बिहान ७.२० बजे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी ज्यामिरगढी, झापाबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) सरोज थापाको कमाण्डमा टोली घटनास्थलतर्फ खटिएको थियो ।
प्रहरी टोलीले घाइते श्रेष्ठलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर, झापा पठाएको थियो । तर, अस्पताल पुर्याउनासाथ बिहान ८.०० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् ।
कुटपिटमा संलग्न राम बहादुर गौतमलाई इलाका प्रहरी कार्यालय धुलाबारी, झापाले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





















































