
यी तीन शब्द झट्ट हेर्दा निकै फरक जस्ता लाग्न सक्छन् । तर, यथार्थमा तिनमा तात्त्विक भिन्नता त्यति धेरै देखिँदैन । मृत्यु मानिसको जीवनको अन्तिम अवस्था हो । अर्थात् मृत्यु भन्नासाथ मानिसको अस्तित्वको नाश हुनुलाई लिइएको हुन्छ ।
चिन्ता मृत्यु नभए पनि मृत्युको नजिक पुर्याउने एक प्रकारको नकारात्मक भावना हो । मृत्युलाई नजिकबाट नियाल्न सकिन्छ भने चिन्तालाई देख्न, छुन र अनुभव गर्न सकिँदैन । चिन्ता व्यक्ति स्वयंको अन्तर्मनको पीडा हो । जुन पीडाले मानिसको मृत्युसम्म पनि हुन सक्छ । त्यसैले चिन्तालाई मृत्यु सरह नै ठम्याउन सकिन्छ । यदि तपाईंमा कुनै कारणबाट चिन्ता बढ्न थाल्यो भने तपाईं जीवनबाट निराश हुन सक्नुहुन्छ । तपाईंमा यस्तो निराशाजनक भावना विकसित भएको हुन्छ कि तपाईं आफैंले आफूलाई सखाप पार्न पनि सक्नुहुन्छ ।
चिन्ता त्यति सजिलैसँग प्रादुर्भाव हुने विषय भने होइन । हुन सक्छ, हामीमा भएका कमी–कमजोरीहरूलाई मुकाबिला गर्न नसकेर हामी चिन्तित पनि हुन सक्छौँ । लामो समयसम्म यदि हामी चिन्ता गरिरहन्छौँ भने निश्चय नै त्यो चिन्ताले चितासम्म पु¥याउन सक्छ । यस अवस्थामा चिन्तालाई मृत्यु समान भन्न सकिन्छ । किनभने चिन्ताले मानिसको मृत्यु पनि हुन सक्छ ।
यहाँ प्रसंग छ चिताको पनि । चिता भन्नासाथ मानिसको जीवनलीला समाप्त भएपछि अन्तिम संस्कार गर्ने ठाउँ हो, जहाँ उसको भौतिक शरीरलाई सदाका लागि नष्ट गरिएको हुन्छ । यस अवस्थामा उसको यस संसारबाट पहिचान गुमिसकेको हुन्छ । उसले सदाका लागि बिदा लिइसकेको हुन्छ । यसरी मृत्यु, चिन्ता र चितालाई केही हदसम्म समानार्थीका रूपमा स्वीकार गर्न सकिन्छ ।
जन्म र मृत्युका विषयमा अनेक परिभाषा पाइन्छन् । जन्मलाई सकारात्मक रूपमा हेरिएको हुन्छ । तर, बुझ्नुपर्ने कुरा के हो भने जन्म र मृत्यु भनेका जीवनका यस्ता अवयव हुन्, जसको अस्तित्वबिना मानिसको जीवन नै निर्माण भएको हुँदैन । त्यसैले जन्मसँगसँगै मृत्यु पनि आएको हुन्छ ।
‘रुन्छ चिँ चिँ गरी मुसो सर्पको मुखमा परी हुन्छ त्यही पनि झर्को सर्पको निम्ति बेसरी ।’ मानिसहरूको झुण्डले गर्दा समाजमा विकृति आएको हुन्छ । यस्ता मानिसहरूले अरूलाई दिनसम्म पीडा दिएका हुन्छन् । जुन पीडाका कारणले गर्दा मानिसलाई मृत्युसम्म पुर्याएको हुन्छ ।
मानिसले जीवनमा जन्मलाई मात्र महत्त्व दिएको हुन्छ र मृत्युलाई उपेक्षा गरिएको हुन्छ । जन्मको तुलनामा मृत्युलाई कठोर मानिएको हुन्छ पनि । किनभने मृत्यु भनेको जीवनको समाप्ति हो । यो कहिल्यै पनि फर्केर नआउने भएकाले कसैले पनि आफ्नो जीवनलाई अवसान गर्न चाहेको हुँदैन ।
मृत्युलाई जति नै उपेक्षा गरे पनि यो अवश्यम्भावी नै हुन्छ । कुनै न कुनै समयमा सबैका लागि आएकै हुन्छ र यसलाई हटाउन सकिँदैन । हटाउन नसकिने भएकाले यसलाई मानिसले जतिसक्यो उति लम्ब्याउन खोजेको हुन्छ । मानौँ कुनै मानिस बिरामी भयो अथवा चोटपटक लाग्यो भने उसको अगाडि मृत्युको याद आइहाल्छ र ‘मरेँ नि बा १’ भन्दै कराउन थाल्छ । उसमा एक प्रकारको मृत्युको भय उत्पन्न भएको हुन्छ । यसको अर्थ बिरामी हुनु, कुनै शारीरिक दुःख, कष्ट, पीडा आउनु भनेको कताकता मृत्युको संकेत हो कि भन्ने डर पलाएर आएको हुन्छ मानिसमा । त्यसकारण यसबाट बच्नका लागि उसले औषधि–उपचार गरेर आफूलाई स्वस्थ बनाएको हुन्छ ।
निश्चय नै मानिस लामो अवधिसम्म बाँच्न चाहेको हुन्छ । र, यसको लागि चिकित्सा विज्ञान क्षेत्रमा नयाँ–नयाँ आधुनिक प्रविधिको विकास पनि भएको छ । यसले मानिसलाई धेरै सुविधा पुर्याएको पनि छ । तर, जति नै विकास गरे पनि मृत्युलाई टार्न भने सकेको छैन । अन्त्यमा जति नै प्रयास गरे पनि कुनै न कुनै समयमा मृत्यु टुप्लुक्क आइदिन्छ र लिएर जान्छ । यो एक प्रकारको निरन्तर चलिरहने प्रक्रिया हो । यसलाई न विज्ञानले, न त अध्यात्मले नै रोक्न सकेको छ । यस अर्थमा विज्ञानशास्त्र पनि अपूर्ण नै भएको देखिन्छ ।
हो, प्रत्येक मानिसको मृत्यु भएकै हुन्छ । कुन समय र कहिले हुन्छ, कसलाई के थाहा र रु थाहा नहुने भएकाले मानिस अनवरत कुनै न कुनै कार्यमा लागि परेकै हुन्छ । उसलाई थाहा भएको भए सायद मानिसले यति धेरै प्रगति पनि गर्ने थिएन । मृत्यु भइहाल्छ भने किन काम गर्ने रु र अर्को कुरा, जति नै प्रगति गरेर धनसम्पत्ति आर्जन गरेर थुपारे पनि आफूसँग लैजान नसकिने भएपछि उसले निष्क्रिय जीवन बिताउँथ्यो पनि होला । तर, मृत्युबारे अनभिज्ञ हुने हुँदा मानिस सम्पत्तिको आश र संग्रह गर्नबाट पछि परेको हुँदैन ।
मृत्युको विषयमा मानिसले त्यति धेरै जिज्ञासा राखेको पनि हुँदैन । किनभने कुनै पनि समयमा कसैको मृत्यु भइहाल्छ र यसबाट मुक्ति पनि पाउन सकिँदैन । मृत्युबारे अध्ययन–अनुसन्धान भइरहे पनि नयाँ कुरा आउन सकिरहेका छैनन् । कुनै नौलो कुरा आउन सक्दैन भने बेकारमा किन दिमाग खियाएर समय खेर फाल्ने भन्ने एक प्रकारको भाष्य निर्माण भएको पनि पाइन्छ । यही कारणले गर्दा मानव जीवनमा मृत्युले त्यति महत्व पाएको छैन, जति जन्मले पाएको छ ।
हो, मृत्युलाई सामान्य रूपमा हामी सबैले स्वीकार गर्दै आएका छौँ । अर्को कुरा, मृत्युले कति पीडा दिन्छ भन्ने थाहा पनि हुँदैन । मृत्युको विकल्प मृत्यु नै हो भन्ने मात्र हामीलाई थाहा छ । तर, बुझ्नुपर्ने कुरा के हो भने मानिसको जीवनमा मृत्यु भन्दा पनि बढी पीडादायी धेरै घटना उसले भोगेको हुन्छ । ती पीडादायी घटनाहरूलाई उसले वास्ता नै गरेको हुँदैन । उसको अन्तरमनमा भने उसले मृत्युले दिने पीडाभन्दा पनि कठोर पीडा महशुस गरेको हुन्छ । व्यक्त मात्र नगरेको हुन्छ ।
मृत्युजस्तो निर्दयी वस्तु अरू कुनै हुन सक्दैन भन्ने मानिसको एक प्रकारको बुझाइ रहिआएको छ । यो बुझाइमा त्यति सत्यता भएको देखिँदैन । तपाईं आफैँ विचार गर्नुहोस्-तपाईं बाँचिरहेको यो धर्तीमा तपाईंले कति धेरै पीडा भोग्नुभयो र अझै भोगिरहनुभएको छ । ती पीडाहरूले अहिलेसम्म पनि तपाईंलाई सताइरहेका हुन सक्छन् । एउटा पीडालाई मुस्किलले केही हल्का बनाउन नपाउँदै तपाईंमाथि अर्को पीडा थोपरिहालिन्छ । यसरी अविरल रूपमा तपाईंलाई पीडा दिइरहेको हुन्छ । यो पीडाबाट तपाईं उम्कन सक्नुहुन्न । कतिपय मानिस अरूलाई पीडा दिन सकेकोमा आफूलाई ठूलै पुरुषार्थी ठानेका हुन्छन् पनि ।
यहाँ बुझ्नुपर्ने कुरा के छ भने किन मानिसले मानिसलाई मृत्युमा हुने पीडाजस्तै पीडा दिइरहेको हुन्छ रु यसको मुख्य कारण भनेको यो भौतिक तथा उपभोगवादी समाजमा मानिस जसरी भए पनि अकुत सम्पत्ति आर्जन गरेर समाजमा प्रतिष्ठित व्यक्ति हुन चाहन्छ ।
हो, मानिस स्वार्थी प्राणी हो । मूलतः उसको स्वार्थ भनेको जीवनमा धनीमानी हुनु हो । तर, धनी हुन मानिसलाई त्यति सजिलो पनि छैन । धनी हुन निकै ठूलो परिश्रम गर्नुपर्छ । तर, मानिस परिश्रम गरेर सम्पत्ति आर्जन गर्न चाहँदैन । किनभने यो बाटो कठिन हो । कतिपय मानिसहरू दोस्रो बाटो अपनाउँछन् । त्यो भनेको अवैध गतिविधि, भ्रष्टाचार, लुटपाट, छल, तिकडम, भ्रमको खेतीजस्ता अवाञ्छित कार्य गरेर भए पनि आफू धनी हुने प्रवृत्ति हो ।
धनी भन्ने कुरा पनि व्यक्ति–पिच्छे फरक हुन सक्छ । कुनै खान नपाउने व्यक्तिले पेटभरी खान पायो भने ऊ आफूलाई धनी भएको महसुस गरेको हुन्छ । धनी हुनु भनेको उसका लागि पेटभरि खान पाउनु हो, अर्थात् सन्तुष्टि प्राप्त गर्नु हो । तर, अर्को कुनै व्यक्तिलाई बिहान–बेलुकाको समस्या टर्दैमा त्यतिले पुग्दैन । त्यसभन्दा बढी उसको चाहना हुन्छ । अर्थात् खान पाउँदैमा ऊ सन्तुष्ट हुँदैन र धनी हुने तृष्णा बढ्दै गएको हुन्छ । यस्ता कुरामा बुद्धिमान मानिसले प्रतिस्पर्धा गर्नै हुँदैन । आफ्नो जति क्षमता छ र आफूले जति गर्न सकिन्छ, त्यसैमा सन्तुष्ट हुनुपर्छ । अरूको देखासिकी गर्दैमा तपाईंले केही प्राप्त गर्न सक्नुहुन्न भने बेकारमा किन धनी हुनका लागि दिमाग खियाउनुहुन्छ रु अर्कोतर्फ तपाईंले गलत बाटो पनि लिएको हुन सक्छ । त्यसकारण मानिसले यस्ता दुई नम्बरी धन्दामा नलाग्नु नै बेस । छोडिदिनुहोस् यस्ता कुरा । जीवनमा सन्तुष्टि कसरी लिन सकिन्छ, त्यतैतिर लाग्नु उपयुक्त हुनेछ ।
मानिसको जीवनसँग धेरै कुरा जेलिएको हुन्छ । जीवन भनेको नै धेरै कुराहरूको संयोजन हो । यो एक प्रकारको रसायन हो, जसले धेरै कुरालाई टाँसेर एउटा आकृति बनाएको हुन्छ । त्यसैले त जीवन कौतुकमय भएको छ । जीवनलाई तपाईंले राम्रो बनाउँछु भन्दाभन्दै पनि बनाउन सक्नुहुन्न । किनभने तपाईंको जीवनमा तगारो हाल्ने विभिन्न व्यक्ति हुन सक्छन् । तपाईं जति शुभचिन्तक भए पनि अरूले तपाईंप्रति नराम्रो दृष्टि राखेको हुन्छ । तपाईंप्रति रिस, राग, द्वेष, ईष्र्या गरेर तपाईंलाई दुःख दिएकै हुन्छ । कोही–कोही मानिसमा यतिसम्म ईष्र्या हुन्छ कि मन नपरेको मानिसलाई जतिसक्यो पीडा दिएकै हुन्छ । जुन पीडा दिन पाउँदा ऊ खुसी भएको हुन्छ ।
मानिसमा दुई प्रकारका विचार विकास भएका हुन्छन् । सकारात्मक विचारले सबैलाई राम्रो दृष्टिकोण राखेको हुन्छ र सबै प्राणीलाई उत्तिकै सम्मान गरेको हुन्छ । अरूको नराम्रो चाहेकै हुँदैन । यस्तो विचारबाट मानिसले आफूलाई पनि सन्तुष्ट पारेको हुन्छ भने अरूलाई पनि खुसी बनाएको हुन्छ । यस्ता मानिसहरूले भौतिक सुख–सुविधा प्राप्त गर्न नसके पनि जीवनमा सुखानुभूति भने निश्चय नै प्राप्त गरेका हुन्छन् ।
मानिसमा गुणैगुण हुन्छ भन्न पनि सकिँदैन । केही अवगुण अथवा नकारात्मक विचार पनि हुन सक्छन् । नकारात्मक विचार मौलाउँदै गयो भने मानिसले जीवनमा सुखको अनुभूति गर्नै सक्दैन र जीवन जहिले पनि अस्तव्यस्त भइरहन्छ । हो, भौतिक रूपमा ऊ सम्पन्न हुन सक्छ, कुनै कुराको अभाव नहुन सक्छ, तर भित्र अन्तस्करणबाट जुन आनन्द आउनुपर्ने थियो, त्यो आएको हुँदैन । त्यसकारण बाहिर देखिएको भौतिक सुविधाले मानिसलाई कहिल्यै पनि आनन्द दिन सक्दैन । जहिले पनि मानिस तनावमै बाँचिरहेको हुन्छ ।
नकारात्मक विचारले मानिसलाई आफू मात्र असल र अरू सबै खराब ठान्दछ । सबै कुरा आफूकेन्द्रित गरेको हुन्छ । अरूलाई सानो कण पनि ठान्दैन । आफ्नो स्वार्थका लागि अरूलाई यतिसम्म कठोर पीडा दिन्छ कि यसको कल्पनासम्म गर्न सकिँदैन । हिंस्रक जनावरजस्तो निर्दयी हुन्छ । मानवता भन्ने नै उसमा हुँदैन । यस्तै मानिसहरूको झुण्डले गर्दा समाजमा विकृति आएको हुन्छ । यस्ता मानिसहरूले अरूलाई दिनसम्म पीडा दिएका हुन्छन् । जुन पीडाका कारणले गर्दा मानिसलाई मृत्युसम्म पुर्याएको हुन्छ । उसले बिरालोले मुसालाई जसरी खेलाउँदै–खेलाउँदै आखिरमा मारेको हुन्छ, त्यस्तै प्रकारको व्यवहार नकारात्मक विचार भएका मानिसमा रहेको हुन्छ ।
बिरालोले मुसालाई देख्नासाथ एकैचोटि आक्रमण गरेको हुँदैन । उसले आफ्नो कब्जामा मात्र लिएको हुन्छ र बाहिर भाग्न दिएको हुँदैन । कथंकदाचित भाग्न लाग्यो भने झम्टिहाल्छ । बिरालोले यसो गर्नुको उद्देश्य उसको रमाइलोका लागि हो । रमाउँदा–रमाउँदै कुनै न कुनै समयमा उसले मुसालाई मारेकै हुन्छ, भलै केही समय किन नखेलाएको होस् । नकारात्मक सोच भएकाहरूको विचार पनि बिरालोकै जस्तो हुन्छ । आफूलाई मन नपर्ने कुनै मानिस छ भने मन्दविषझैँ गरी तड्पाई–तड्पाई मृत्युको मुखमै पुर्याइदिन्छ । अन्त्यमा पीडित व्यक्तिले आफूलाई समाल्न सक्दैन र उसको मृत्युसमेत हुन सक्छ । यसरी बिरालो प्रवृत्ति दुष्ट मानिसमा विकास भएको हुन्छ । यो भनेको हिंस्रक जनावर प्रवृत्ति हो ।
मानिसमा जनावर प्रवृत्ति हुन्छ भन्ने कुरा मैले कतै पढेको कुरा अहिले सम्झना आउँछ । त्यो कविताको सानो अंश—
‘रुन्छ चिँ चिँ गरी मुसो सर्पको मुखमा परी
हुन्छ त्यही पनि झर्को सर्पको निम्ति बेसरी ।’
माथिको उद्धरणमा सर्प र मुसाको विषयमा केही भनिएको छ । सर्पले जसरी मुसालाई आफ्नो मुखमा राखेको हुन्छ, मुसा सर्पको टोकाइ र विषका कारणले गर्दा छट्पटिएको हुन्छ । पीडा सहन नसकी ऊ रोइरहेको हुन्छ । तर, मारिन लागेको बेलामा पनि मुसाले रुन पाएको हुँदैन । किनभने सर्पलाई मुसाको रुवाइ पनि झर्को लागेको हुन्छ । भनाइको अर्थ हाम्रो समाजमा यस्तो नकारात्मक प्रवृत्तिको विकास हुँदै गएको छ कि जसरी सर्पले मुसालाई मुखमा च्यापेर प्रताडित गरेको हुन्छ ।
कतिपय मानिसको जीवन पनि सर्पको मुखमा परेकोजस्तै हुन्छ । खराब आचरण भएकाहरूले अलि–अलि गर्दै पीडा थप्दै गएका हुन्छन् । आखिरमा मृत्युको मुखमा नपुर्याएसम्म उनीहरूको मन खुसी हुँदैन । मुसो सर्पको मुखमा परेपछि जसरी ‘खान पाएँ’ भनेर खुशी हुन्छ, त्यसैगरी खराब आचरण भएका मानिसहरू पनि खुसी भएका हुन्छन् । पीडाले छट्पटिएका मानिसहरू पीडा खप्न नसकेर आफ्नो थातथलो नै छोडेर अन्यत्र लागेका दृश्यहरू हाम्रो आँखामा झल्झली आइरहेका छन् । त्यसकारण मानिसले नै मानिसलाई मृत्युको मुखमा पुर्याउने हो । जनआस्थाबाट





















































