झापा। देशभर सुपारी खेतीमा देखिएका जटिल समस्याको समाधानका लागि सुपारी उत्पादक किसान संघ नेपालले सरकारलाई कडा दबाब दिएको छ । संघले राष्ट्रिय सभाअन्तर्गत दिगो विकास तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलसमक्ष पत्र पठाउँदै तत्काल हस्तक्षेप गर्न आग्रह गरेको हो।
संघका अध्यक्ष नीलकण्ठ तिवारी र सचिव मुक्तिनाथ गौतमद्वारा हस्ताक्षरित पत्रमा नेपालमा सुपारी खेती विस्तार हुँदै गए पनि किसानले त्यसको प्रतिफल पाउन नसकेको उल्लेख गरिएको छ। उत्पादन बढे पनि बजार अभाव, मूल्य अस्थिरता र नीतिगत अस्पष्टताले किसानहरू समस्यामा परेको जनाइएको छ।
पत्रअनुसार सुपारी खेती दीर्घकालीन लगानीमा आधारित व्यवसाय भएकाले किसानहरूले वर्षौँसम्म प्रतिफल कुर्नुपर्ने तर उत्पादनपछि उचित मूल्य नपाउँदा कृषकहरू आर्थिक संकटमा परेको संघको भनाइ छ।
संघले देशका हजारौँ हेक्टर क्षेत्रमा सुपारी खेती भइरहेको र वार्षिक ठूलो परिमाणमा उत्पादन हुने भए पनि यसको प्रभावकारी बजारीकरण हुन नसकेको जनाएको छ। अझै पनि आधुनिक प्रशोधन उद्योग, भण्डारण र प्रविधिको अभावले समस्या थप जटिल बनाएको उल्लेख छ।
त्यसैगरी, भारत लगायतका देशबाट आयात हुने सुपारीका कारण स्वदेशी उत्पादनले बजार गुमाउँदै गएको भन्दै संघले सरकारको ध्यानाकर्षण गराएको छ।
सुपारी खेती देशभर फैलँदै जाँदा हजारौँ किसान प्रत्यक्ष रूपमा यस पेशामा संलग्न छन् भने ढुवानी, प्रशोधन र व्यापारमार्फत हजारौँलाई अप्रत्यक्ष रोजगारीसमेत सिर्जना भएको छ।
हाल करिब ११ हजार ९ सय हेक्टर क्षेत्रफलमा सुपारी खेती भइरहेको र वार्षिक करिब १ लाख ६५ हजार मेट्रिक टन सुपारी उत्पादन हुने उल्लेख गरिएको छ। तर उत्पादन बढे पनि त्यसअनुसार बजार र मूल्य सुनिश्चित हुन नसक्दा किसानको आम्दानी वृद्धि हुन सकेको छैन।
सुपारी खेती दीर्घकालीन लगानीमा आधारित भएकाले किसानले १०–१५ वर्षसम्म कुर्नुपर्ने अवस्था हुन्छ। उत्पादनपछि उचित मूल्य नपाउँदा लगानीसमेत उठाउन कठिन भइरहेको संघका अध्यक्ष तिवारीले जानकारी दिए।





















































