झापा । नेपालमा सञ्चालनमा आएका उद्योग-ब्यवसायलाई आवश्यक पर्ने दक्ष जनशक्ति र वैदेशिक रोजगारबाट फर्केका युवाहरुको बिषय दक्षतामा फरक हुँदा स्वरोजगार कार्यक्रममा समस्या उत्पन्न भएको सरोकारवलाको भनाई छ ।
झापाको मेचीनगरमा बुधबार सम्पन्न वैदेशिक रोजगारबाट फर्केका ब्यक्ती पुनः एकीकरण रेमि परियोजना कार्यशाला गोष्ठीमा सहभागी सरोकारवलाहरुको निश्कर्ष छ ।
जसका कारण बिदेशबाट फर्केका युवाहरुको क्षमता र दक्षता एकातिर तथा उद्योगमा आवश्यक पर्ने दक्षता नमिल्दा सोचेजस्तो प्रगति गर्न नसकिएको सहभागी बक्ताको आशय थियो ।
गोष्ठीका प्रमुख अतिथि मेचीनगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरमा बिदेशबाट फर्केका युवा र बेरोजगार युवालाई लक्षित गर्दै रोजगारीका स्थानीय उद्योग तथा होटलमा समन्वय गरेको बताए । उनले सम्बन्धित ब्यवसायलाई आवश्यक पर्ने स्किलसहितको जनशक्ति नहुँदा पर्याप्त रोजगार दिन नसकिएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेशका उपाध्यक्ष ऋषि तिम्सिनाको अध्यक्षतामा सम्पन्न गोस्ठिमा नेपाल उद्योग वाणिज्य महासंघका पुर्वकेन्द्रिय सदस्य नरेन्द्रकुमार खड्का, उद्योग वाणिज्य महासंघ कोशीका कार्यकारी निर्देशक राधारमण भण्डारी, मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष किशोर क्षेत्री, नेपाल भेनियर संघका अध्यक्ष श्याम न्यौपाने, अलैंची ब्यवसायी महासंघका कार्यकारी निर्देशक अनिल ढुंगाना लगायतले युवालाई स्वरोजगार बनाउन रेमिले सम्बन्धित बिषयको तालिम तथा सहजीकरणको आवश्यकता भएको धारणा राखेका थिए ।
रेमि परियोजनाका कार्यकारी अधिकृत रिता बिश्वासले गोष्ठीबारे जानकारी गराएको कार्यक्रममा रेमि परियोजना मेचीनगरका संयोजक कृपा रेग्मीले सहजीकरण गरेका थिए ।
उद्योग वाणिज्य संघ कोशी प्रदेशका कार्यक्रम संयोजक सन्जिब पौडेलले सञ्चालन गरेको कार्यक्रमको समापन मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईंले गरेका थिए ।















































