धुलाबारी ।बिनाकारण आफूलाई सार्वजनिक स्थलमा सामूहिक रूपमा कुटपिट गरी गम्भीर घाइते बनाइएको भन्दै मेचीनगर–९ का धर्मप्रसाद ओलीले घटनामा संलग्न व्यक्तिमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेका छन् ।
मेचीनगर–१० स्थित नन्द पेट्रोल पम्पमा हनुमान सेक्युरिटी कम्पनीमार्फत कार्यरत ओलीलाई मुनाल सेक्युरिटी कम्पनीका कुमार तामाङलगायतले कुटपिट गरेपछि कानुनी कार्वाही गर्न माग गरेका हुन् । गत भाद्र १७ गते साँझमा भएको साङ्केतिक आक्रमणपछि ओलीकी श्रीमति पुष्पा गौतमले इलाका प्रहरी कार्यालय धुलाबारीमा किटानी जाहेरी दिएका थिए ।
प्रहरीले घटनामा संलग्न कुमार तामाङ र नरेन्द्र तामाङसहितका पाँच जनालाई नियन्त्रणमा नलिएको पीडित ओलीको गुनासो छ ।
नन्दा पेट्रोल पम्प परिसरमै कुटपिट गरेको उनको आरोप छ । कुटपिटबाट नाकको भित्री डाँडीको हड्डी भाँचिनुका साथै तीन वटा दाँत झरेको, एउटा दाँतमा क्याप लगाउनुपरेको तथा नाक र छातीमा गम्भीर चोट लागेको बिर्ता सिटी अस्पताल प्रशासनले जनाएको छ ।
घटना यसरी भएको थियो:
हनुमान सेक्युरिटीमार्फत नन्दा पेट्रोल पम्पमा कार्यरत थिए मेचीनगर-९ का धर्मप्रसाद ओली । घटना हुनुअघि ड्युटीको क्रममा तेलको ट्याक्टरको बिल–बिजकसम्बन्धी लिन चालक बसेको ठाँउ नजिकैको पसलमा पुगेका थिए । त्यहाँबाट बाहिरिने क्रममा कुमार तामाङको कुम आफ्नो शरीरमा ठोक्किएपछि आफूले सामान्य रूपमा ‘उत्तापट्टि त्यत्रो ठाउँ छ दाइ’ भनेको ओली उनको भनाइ छ ।
त्यहीँवेला तामाङले आवेगमा आएर आफ्नो घाँटी तथा छातीको कपडा समातेर कुट्न खेजेका थिए । त्यहाँ सवारी चालक तथा स्थानीयले छुटाएपछि आफू नन्दा पेट्रोल पम्पमा फर्किएर काममा लागेको ओलीले बताएका छन् ।
केही समयपछि कुमार तामाङ र नरेन्द्र तामाङसहित अन्य पाँच जना व्यक्ति गाडी तथा स्कुटरमा आएर पेट्रोल पम्प परिसरमै आफूलाई समातेर साङ्केतिक रुपमा कुटपिट गरेको ओलीको आरोप छ।
घटनामा गम्भीर घाइते भएपछि पेट्रोल पम्पमा कार्यरत साथीहरूले घरमा खबर गरेका थिए । त्यसपछि उनकी श्रीमतीले उपचारका लागि स्थानीय मेडिकलमा पुर्याएकी थिइन् । मेडिकलले नाक र दाँतमा गम्भीर चोट लागेको भन्दै बिर्ता सिटी अस्पताल रेफर गरेको थियो । भोलि पल्ट भदौ १८ गते उनकी श्रीमति पुष्पा गौतमले इलाका प्रहरी कार्यालय, धुलाबारीमा किटानी जाहेरी दिएकी थिइन् ।
११ दिन भयो, पक्राउ परेनन् :
जाहेरी दिदा घटनास्थलको सीसीटीभी फुटेजसमेत प्रहरीलाई उपलब्ध गराएको उनको भनाइ छ। तर घटना भएको ११ दिन बितिसक्दा पनि कुटपिटमा संलग्न भनिएका व्यक्तिमाथि प्रभावकारी खोजतलास तथा कानुनी कारबाही नभएको पीडित पक्षकाे गुनासो छ । हाल बिर्ता सिटी अस्पताल, बिर्तामोडमा उपचाररत ओलीले आफू र परिवारको सुरक्षाप्रति प्रशासन वेखवर झैं बनेको उनको भनाइ छ ।
उनकी श्रीमतीलाई समेत अपरिचित महिलाबाट फोनमार्फत धम्की दिने गरिएको ओलीले बताएका छन् ।
ओलीले घटनाको सीसीटीभी फुटेज, चिकित्सकीय प्रतिवेदनलगायत उपलब्ध प्रमाणका आधारमा निष्पक्ष अनुसन्धान गरी दोषी देखिए तत्काल कानुनी कारबाही गर्न माग गरेका छन् ।
यता इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक नकुल गौतमले घटनापछी संलग्न ब्यक्ती फरार रहेकाले खोजी कार्य तीब्र बनाएको बताए । हामी सुरुकै दिनबाट खोजी गरिरहेका छौँ उनले भने, `फरार रहेकाले पक्राउ पर्न सकेको छैन ।´ केहिदिन मै नियन्त्रण गर्ने प्रहरी निरीक्षक गौतमले जानकारी दिए । उनले कुनै समस्या आएमा तत्काल खबर गर्न पीडितलाई आग्रह गरेका छन् ।























































