झापा । भारतले पश्चिम बंगाल प्रान्तमा हुने विधान सभाको चुनावलाई लक्षित गर्दै ७२ घण्टाका लागि पूर्वी सीमा नाका बन्द गरेको जनाएको छ । भारतको दार्जीलिङ जिल्ला प्रशासन कार्यालयले सोमवार साँझ ६ बजेदेखि बैशाख १० गते सम्मका लागि नेपाल भारत सीमा क्षेत्रमा आगमन बन्द गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
काँकडभिट्टासँग सीमा जोडिएको पानीटंकी नाकाबाट मानिस तथा सवारी साधनको आवतजावत पूर्णरुपमा बन्द गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। भारतको पश्चिम बंगालमा बैशाख १० गते विधानसभाको चुनाव हुँदैछ । बिगतमा पनि नेपाल र भारत दुबैतर्फ चुनाव अघि सहमतिमा नाकामा आवागमन बन्द गरिने प्रचलन थियो ।
‘बोर्डर शिल’ गरिएको अवस्थामा अतिआवश्यक वा बिरामी उपचारका लागि परिचय देखाएर सीमामा आवतजावत गर्न दिइने छ भने नेपाल र बंगलादेशका पर्यटकका लागि सम्बन्धित देशल र भारतीय प्रशासनले परिचय खुल्ने कागजपत्र देखाएमा आवतजावतमा सहजीकरण गरिदिने भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खड्काको भनाई छ ।



















































