उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टारमा भएको भीषण आगलागीमा परी २ जनाको मृत्यु भएको छ । आज बिहानको राति २ः४५ बजेबाट सुरु भएको आगलागी हुँदा स्थानीय ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको हो ।
बेल्टारस्थित शान्तिचोकका लक्ष्मीनारायणको घरबाट विद्युत्‌को तार सर्ट भएर एक्कासी आगोले लक्ष्मीसहित रबिनकुमार दास र सकलदेवको घर समेत जलेर पूर्णरूपमा नष्ट बनाएको प्रहरीले जनाएको छ । घरमा सुतिरहेको अवस्थामा एक्कासी आगलागी हुँदा जलेर दुवैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले बताए । उनका अनुसार आगलागीमा परी घाइते भएकी अस्मिता खड्काको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ ।
आगो त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकाको दमकल, स्थानीय र प्रहरीको संयुक्त प्रयासमा आज बिहान नियन्त्रणमा लिइएको छ । क्षतिको अन्य विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।