झापा । श्रीमतीलाई स्वास्थ्य बिमा बोर्ड सदस्य बनाउने मोह र विवादस्पद अभिव्यक्तिका कारण श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह १३ दिनमै मन्त्री पद गुमाउनु परेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारमा उनी १३ चैतमा श्रममन्त्री भएका थिए । मन्त्री साहले श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डको सदस्य बनाउन लबिङ गरेका थिए । मन्त्री साहले श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको राष्ट्रिय बिमा बोर्डको सदस्यको नियमित काममा लगाएपछि प्रधानमन्त्री शाहले पदमुक्त गरेका हुन् । त्यसैलाई स्वास्थ्यमन्त्री निशा मेहताले समेत ‘ग्रिन सिग्नल’ दिएपछि श्रेष्ठ स्वास्थ्य बिमा बोर्डको सदस्यमा पुनः नियुक्त भएकी थिइन् ।
सतहमा श्रीमती नियुक्तिको विषय देखिएपनि मन्त्री साहको पछिल्लो अभिव्यक्तिमाथि प्रधानमन्त्री कार्यालयसमेत असन्तुष्ट थियो । मन्त्री साहले बुधबार आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर राष्ट्रिय बिमा बोर्ड र स्वास्थ्य मन्त्रालयको कार्यसम्पादनमाथि विवादित अभिव्यक्ति दिएका थिए । १० औं राष्ट्रिय बिमा दिवसको अवसरमा उनले देश नेताले मात्रै नभई कर्मचारीले डुबाएको अभिव्यक्ति दिएका थिए ।



















































