झापा । वन तथा पर्यटन कार्यालय कोशी प्रदेश विराटनगर अन्तरगतको पर्यटन कार्यालय काँकरभिट्टाको कार्यशैलीमाथि गम्भीर प्रश्न उठ्न थालेको छ। प्रदेश सरकारबाट प्राप्त बार्षिक बजेट खर्चिदै आएपनि पर्यटन आकर्षित गर्ने प्रभावकारी कार्यक्रम सञ्चालनमा कमजोरी देखिँदा प्रश्न उठ्न थालेको हो ।
पर्यटक भित्र्याउने नाउँमा बर्सेनि लाखौं राज्यकोषको रकम खर्च प्रभावकारी रूपमा नभएको सरोकारवालाको गुनासो छ । कार्यालयले बजेट खर्चमा पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्दा आफ्नो कार्यालय भन्दा पार्टी प्यालेसमा गर्ने गरेको, स्थानीय पर्यटकीय क्षेत्रलाई प्रोत्साहन नगरेको, काँकरभिट्टा प्रवेशद्वारमा हजारौं पर्यटक नेपाल भित्रिने गरेपनि उनीहरूलाई रोक्ने र आसपासका गन्तव्यतर्फ आकर्षित गर्ने कुनै प्रभावकारी कार्यक्रम सञ्चालन नगरेको, स्थानीय मिडियालाई पूर्ण रूपमा वेवास्ता गर्दै आएका कारण आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन कमजोर देखिएको पर्यटन व्यवसायीको गुनासो छ ।
त्यति मात्रै होइन कोशी प्रदेशको आधिकारिक कार्यालयमा आन्तरिक तथा बाह्य पर्यटक आगमनको तथ्यांकसमेत व्यवस्थित रूपमा राखिएको पाइदैन । प्रत्येक वर्षमा कति आन्तरिक र बाह्य पर्यटक भित्रिए, कार्यालयमा तथ्याड्क नै राखिदैन । जसले नीति निर्माण र योजना तर्जुमामा गम्भीर असर पर्ने देखिन्छ । तथ्याड्कको विषयमा सोधपुछ गर्दा कार्यालयका सूचना अधिकारीले हाम्रो काम होइन अध्यागमनमा छ भन्ने जवाफ दिने गरेका छन् ।
पर्यटन कार्यालयमा व्यवस्थित हल पनि छ । तर योजनानुसारको कार्यक्रमको जानकारी गराउँदा होस् या पत्रकार सम्मेलन गर्दा होस् कार्यालयको हल खासै प्रयोग गरिँदैआएको छैन । पत्रकार सम्मेलन, गोष्ठी, अन्तरक्रिया जस्ता कार्यक्रम कहिँले जिल्ला बाहिर र कहिँले जिल्लाभित्रका होटल तथा रेष्टुरेन्टमा आयोजना गरिन्छ । जसले गर्दा कार्यालयको अनावश्यक खर्च बढाएको र सार्वजनिक स्रोतको दुरुपयोग भएको आरोप छ । सरोकारवालाहरूले यसलाई “फजुल खर्च” भन्दै छानबिनको मागसमेत गरेका छन्। यस सम्बन्धमा तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै बजेट खर्चको पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्नुपर्ने माग उठ्न थालेको छ।
अर्कोतर्फ बार्षिक नीति, योजना तथा कार्यक्रम ल्याउदा प्रतिश्पर्धा नै नगरी कर्मचारीले आफू अनुकूलका व्यक्ति वा संस्थालाई कार्यक्रम दिने गरिएको आरोप छ । स्थानीयवासी तथा पर्यटन व्यवसायीले नाम नखुलाउने सर्तमा भने—“बजेट खर्च गर्ने मात्र होइन, त्यसको परिणाम पनि देखिनुपर्छ।” यदि यस्ता गतिविधिमा सुधार नआए काँकरभिट्टा जस्तो महत्वपूर्ण नाका पर्यटन गेटवे बन्ने अवसर गुमाउने खतरा बढ्दै जाने देखिन्छ।
त्यसैगरी फजुल खर्च गर्दै आएको कार्यालयले स्थानीयस्तरका पर्यटकीय क्षेत्रको प्रबद्र्धनका लागि सूचना सामाग्री प्रकाशन प्रसारणमा रोक लगाउँदै आउनुले पनि कार्यालयको कमजोरी देखिएको सरोकारवालाले औंल्याएका छन् । झापाका प्रायः सबै स्थानीय तहमा सामुदायिक वन छ । केही समययता ती प्रायः सबै वनमा पर्या-पर्यटन क्षेत्रको रुपमा विकास गरिएको छ । तर पर्यटन कार्यालयको लक्षित योजना तथा कार्यक्रममा ती नव पर्यटकीयस्थल समेटिएको पाइदैन । नव पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने खालको कुनै पनि कार्यक्रम पर्यटन कार्यालयले नल्याएको कालीका सामुदायिक वन उपभोक्ता समिमिका अध्यक्ष वीरबहादुर तामाङले जानकारी दिए ।
प्रविधिको बढ्दो प्रयोगसँगै प्रभावकारी अफिसियल प्रचारप्रसार गर्न नसक्दा पनि आन्तरिक तथा बाह्य पर्यटक आगमनमा कमजोर देखिएको पाइन्छ । कार्यालयको आधिकारिक वेव पेजमा पर्यटकले नेपालका पर्यटकीय स्थलको अवस्था बुझ्ने उपयुक्त सामाग्री समेत राखेको पाइदैन । पर्यटन कार्यालय सञ्चार तथा प्रविधिमैत्री नहुनु र धेरै संरचनात्मक वा व्यवस्थापकीय कमजोरीका कारण पनि अपेक्षाअनुसार आन्तरिक तथा बाह्य पर्यटक भित्रिन नसकेको पुष्ठि हुन्छ ।
काँकभिट्टा नेपाल प्रवेशको मुख्य नाका भए पनि यहाँको पर्यटन सम्भावना अन्तर्राष्ट्रियस्तरमा राम्रोसँग प्रचार हुन सकेको छैन। डिजिटल प्लेटफर्म, ट्राभल एजेन्ट र अन्तर्राष्ट्रिय मेलामा उपस्थिति कमजोर रहनु, पर्यटक लक्षित होटल, सूचना केन्द्र, गाइड सेवा, सफा वातावरण, आकर्षक पार्क वा सांस्कृतिक केन्द्रको प्रबद्र्धनमा स्थानीय सरकारको नियम नहुनु, निजी क्षेत्र र नेपाल पर्यटन बोर्डबीच प्रभावकारी सहकार्य नहुनुले पनि पर्यटन क्षेत्र लक्षित सफलता हासिल गर्न नसकिएको सरोकारवालाको भनाई छ ।



















































