झापा । कृषि प्रोत्साहन बजेटबाट निर्माण गरिएका सुपारी र अधुवा प्रशोधन केन्द्र हाल लागूऔषध प्रयोगकर्ताको अखडा बनेको छ ।
सम्बन्धित उद्योगीले जीर्ण बनेका आफ्ना संरचनाकाे उचित ब्यवस्था नगर्दा दुर्ब्यशनीको अखडा बनेपछि त्यहाँका सर्वसाधारणले असुरक्षित भएको गुनासो गरेका छन् । अदुवा-सुपारी प्रशोधन केन्द्र निर्माणपछि बन्द हुँदै हाल लागुऔषधको अखडा बनेको गुनासोपछि युवा अभियान नेपालले स्थालगत अनुगमन गरेको छ । मेचीनगर-१० र १४ का सर्वसाधारणले दिन र रातमा नशालु पदार्थ सेवन ओसारपसार तथा अनैतिक अवाञ्छनीय गतिविधि हुँदै आएकोले असुरक्षित बनेको स्थानीयको गुनासो छ ।

जीर्ण उद्योग आसपासमा झार-जंगलको रुपमा परिणत हुँदा मानिस आउजाउ गर्दा नदेखिने अवस्था भएको छ । त्यहीँ बाटोबाट स्थानीय महानद प्राबिमा पठनपाठन गर्न ससाना बालबालिकाहरु विद्यालय जाने र घर फर्किने गर्छन् । उद्योगको बीच भागमा ढुकुरे खोला पर्दछ । उक्त खोलामा निर्माणाधिन अवस्थामै पुल अलपत्र बनाइएको छ । पुलले पुर्ण स्वरुप नपाउँदा निर्माण गर्दा उत्खनन भएको बाटोमा हिड्डुल गर्न समेत समस्या हुँदै आएको छ ।

लागूऔषध प्रयोगकर्ताले पानीतान्ने कल, मोटर, मोबाइल, खसी बाख्रा, सुन गहनालगायतका धनमाल लुटपाट गर्ने गरेको स्थानीय कमल राजबंशीको गुनासो छ । दिनहुँ स्थानीयको धनमाल चोरी लुटपाट हुँदैआएपछि त्यहाँका सचेत युवाहरुले संस्थानै स्थापना गर्दै बिकृतिबिसंगति, लागुऔषध दुर्ब्यशनी र भ्रष्टाचार नियन्त्रणको अभियान सुरु गरेका छन् । मेचीनगरलाई कार्यक्षेत्र बनाएर `युवा अभियान नेपाल´संस्था प्रालिमा दर्तापछी अभियानको शुभराम्भ भएको हो ।
लागुऔषध दुर्ब्यशनी तथा ओसारपसारको अखडा बनेपछि अभियानका संयोजक पशुपति भट्टराई र उद्योगीसँग वार्ता टोलीका संयोजक प्रकाश उप्रेतीसहितको समितिले वडा कार्यालयमार्फत जीर्ण बनेका उद्योगका सञ्चालक नरेन्द्रकुमार खड्कासँग छलफल गरेको छ । वडाध्यक्षसहित सदस्य र वार्ता टोलीसँगको छलफलमा उद्योगी खड्काले अदुवा, सुपारी प्रशोधन केन्द्र, प्लाई उद्योगको आसपासमा रहेको फोहोरमैला र झाँडी-जंगल फडानीसहित सरसफाई गर्न लगाउने र संरक्षणका लागि उचित ब्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

सो क्रममा मेचीनगर-१४ का वडाध्यक्ष बाबुलाल सुब्बाले उद्योगीको त्रुटि औंल्याउँदै स्थानीय नागरिकलाई असर परेको जनाउँदै अव्यवस्थित बनेका पुर्वधारको तत्काल उचित ब्यवस्थापन गर्न सुझाव दिएका थिए ।
युवा अभियान नेपालले स्थानीय पाथीभरा टोलमा निर्माणाधीन अवस्थामा रहेको पाँचतारे होटललाई स्थानीयले उठाएको कानूनसम्बत बिषयमाथि स्पष्ट जवाफ माग गर्दै आएको थियो । स्थानीय युवाको जयज मागप्रति वडा कार्यालय समर्थन गर्दै होटल निर्माणाधीन अवस्थामै तत्काल बन्द गर्न सिफारिस गरेको थियो । निर्माण गर्दा वातावरण प्रभाव मुल्यांकन प्रतिवेदन अष्पष्ट देखिएको, हडिया नदीको जमिन अतिक्रम भएको र सार्वजनिक बाटो मिचेर निर्माण सुरु गरेको स्थानीयको आरोप छ ।

त्यसैगरी पाथीभरा टोल र प्रगति टोल मेचीनगर-१४ को छिमेकी टोल हो । बिगत दुई दशकबढी सञ्चालनमा आएको मेची ग्यास उद्योग र आटा उद्योग सञ्चालन देखिँदै आएको समस्यालाई केलाउँदै वातावरण प्रभाव मुल्यांकन प्रतिवेदन माग गरिएको छ । जसको लागि उद्योगीसँग वार्ता समितिसमेत बनाइएको छ ।
त्यतिमात्रै होइन मेची नगरपालिकाले यसअघि सुरु गरेको मेचीनगर अस्पताल निर्माणमा देखिएको चरम लापरबाही र राज्यकोष माथिको भ्रष्टाचारको अनुगमन समेत गरेको छ । जसमा नगर अस्पतालसँगै रहेको २०६६ साल र २०७९ सालमा निर्माण सुरु गरिएको नागरडुब्बा खोलाको अलपत्र अवस्थाको दुईवटा पुलको अनुगमनपछि रिपोर्ट तयार गरेको छ । 

जसमा निर्माण ब्यवसायी र निर्माण योजना अघि सार्ने स्थानीय, प्रदेश सरकारले नियमन नगर्दा नागरिकको करबाट निर्माण भएको राज्यकोषको रकमको दुरुपयोगसहित चरम भ्रष्टाचार भएको निस्कर्ष निकालेको छ । ती निर्माणाधीन अवस्थामै अलपत्र पारिएका अस्पताल, पुलको स्थलगत अनुगमन गर्दै छानबिन गरी दोषीलाई कानूनी कार्वाही गर्न प्रतिनिधि सभा सदस्यलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ ।


















































