बिराटनगर । प्रधानमन्त्री बालेन्द्र शाहले कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग क्षेत्रगत समस्या र समाधानका उपायबारे विस्तृत छलफल गरेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित छलफलमा कोशी प्रदेशका सबै सांसदहरू सहभागी भएका थिए। उनीहरूले आ–आफ्नो निर्वाचन क्षेत्रका प्रमुख समस्या, विकासका अवरोध र आवश्यकताबारे प्रधानमन्त्रीसमक्ष ब्रिफिङ प्रस्तुत गरेका थिए।
छलफलमा सहभागी यज्ञमणी न्यौपानेका अनुसार, प्रदेशका साझा समस्यासँगै प्रत्येक क्षेत्रका छुट्टाछुट्टै मुद्दाहरू पनि प्रधानमन्त्रीसमक्ष राखिएको थियो । ‘कोशी प्रदेशका समग्र समस्या र हरेक निर्वाचन क्षेत्रका विषयमा प्रधानमन्त्रीज्यूलाई जानकारी गराइयो,’ उनले भने, ‘उहाँले तत्काल समाधान गर्नुपर्ने विषय र समाधानका उपायबारे विशेष चासो देखाउनुभयो।’
प्रधानमन्त्री शाहले समस्याहरूलाई प्राथमिकताका आधारमा वर्गीकरण गर्दै बजेटअनुसार छिटोभन्दा छिटो समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले तत्काल सम्बोधन गर्नुपर्ने विषय पहिचान गरी कार्यान्वयनलाई तीव्रता दिने धारणा राखेको बताइएको छ।



















































