काठमाडौं । गत २१ फागुनमा भएको निर्वाचनपछि बसेको प्रतिनिधिसभा बैठकमा नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । उनीहरूलाई सिंहदरबारस्थित नवनिर्मित संघीय संसद्को अस्थायी रुपमा बनेको बहुउद्देश्यीय हलमा शपथ ग्रहण गराइएको हो । संघीय संसद् सचिवालयका अनुसार, अब संसद्का केही प्रारम्भिक बैठक पनि सोही हलमा बस्नेछ ।
नवनिर्मित प्रतिनिधिसभाको हल तयार नभएकाले सांसदहरूको शपथ र प्रारम्भिक केही बैठकका लागि अस्थायी हल निर्माण गरिएको हो । उक्त हलमा दलको सिट संख्याका आधारमा दलहरूको बस्ने ठाउँ तय गरेको छ ।
शपथलगत्तै प्रत्येक सांसदहरूले संघीय संसद् सचिवालयले एक एक वटा झोला पनि उपलब्ध गराएको छ । उक्त झोलामा संविधान, प्रतिनिधि सभा नियमावली, संयुक्त बैठक संचालन नियमावली राखिएको छ । शपथका लागि पुगेका सांसदहरू विभिन्न भेषभूषामा सजिएर पुगेका थिए । संसद् सचिवालयका अनुसार ६३ जना सांसदहरूले आफ्नै मातृभाषामा शपथ लिएका थिए ।



















































