झापा । झापाका एकजना व्यवसायीले एक किशोरीमाथि अभद्र व्यवहार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिएका छन् । व्यवसायी प्रदिप मित्तलले मेचीनगर–१४ की एक जना किशोरीलाई अभद्र व्यवहार गरेपछि किशोरी र उनका परिवारले जाहेरी दिएका हुन् । व्यवसायी मित्तलको मेचीनगर–१४ स्थित प्रगतिटोलमा सात विगाह जमिन छ । सोही जमिनमा विगतदेखि नै भेनियर (प्लाई) उद्योग सञ्चालनमा छ । उक्त जमिनमा मित्तलले पाँचतारे होटल निर्माण सुरु गरेका छन् ।
यस्तो छ घटनाः
ती किशोरीकी आमा भेनियरमा डोरा हाजिरामा ड्युटी गर्दै आएकी थिइन् । उनकी छोरी काठमाण्डौंको एक क्याम्पसमा ‘प्लसटु’ मा अध्ययनरत छिन् । केही दिनअघि घर आएकी थिइन् । आमा भेनियरमा काम गर्न जाने र अपरान्ह १ मा खाजा खाने समयमा दाउराको जोहो गर्ने गर्थिन् । मंगलबार (आज) विहान घरबाट निश्किदा आमाले दिउँसो बोरा लिएर आउनु भनेकी थिइन् । आमाको आज्ञा पालना गर्दै ती किशोरी बोरा बोकेर दिउँसो भेनियर उद्योग परिषरमा पुगिन् ।FB_IMG_1773830833728 आमालाई बोरा दिइन् र घर फर्कनै लाग्दा निर्माणाधिन पाँचतारे होटलका प्रोपाइटर (पूर्वभेनियर सञ्चालक) प्रदिप मित्तलले ति युवतीलाई जिस्क्याएका थिए ।
निरन्तर जिस्क्याएपछि ती किशोरीले उसको कुरा नसुनी घरतिर लागिन् । उद्योगी मित्तलले आफ्नो कालो रंगको कार स्टाट गरेर किशोरीलाई पछ्याउँन थाले । पछ्याउँदै पछ्याउँदै किशोरीको घर नै पुगेको प्रत्यक्षदर्शीले देखेका छन् । बाटोबाट करिव पचास मिटर दूरीमा किशोरीको घर छ । व्यवसायी मित्तलले बाटोमा गाडी रोकेर पटकपटक गाडीको हर्न लगाए । हर्न सुनेर किशोरीका छिमेकीहरु बाटोमा निस्किएका थिए । युवती घरबाट ननिस्किएपछि उद्योगी मित्तल आफै गाडीबाट उत्रिएर किशोरीको घरतिर लाग्छन् । उक्त घटना देखेर किशोरीकी छिमेकीले भनिन्, ‘म त घरजग्गा किन्न पो आएको होला भन्ने लागेर त्यति वास्ता पनि गरिन, कुरो अर्कै रहेछ ।’

मित्तलले किशोरीको घरमै पुगेर खबरमात्रै सोधेनन् । किशोरीलाई आफुसँग नजिक बनाउन विभिन्न प्रलोभन देखाउँदै घरजग्गा, जमिन, धनसम्पतिको अवस्था समेत भन्न भ्याएका थिए । त्यहाँ किशोरीको सम्पर्क नम्बर मागेका थिए । अपरिचित व्यक्ति त्यसमा पनि उसले देखाएको गलत व्यवहारले किशोरीले आफ्नो मोवाइल नम्बर नदिएको पारिवारिक श्रोतले जनाएको छ । मोवाइल नम्बर नदिएपछि उद्योगी मित्तल बाटो राखिएको गाडीतिर फर्कन्छन् । गाडी लिएर निमार्णाधिन फिल्डतर्फ जान्छन् पुग्छन् ।
१० मिनेटपछि पुनः किशोरीको घरमा पुग्छन् । किशोरीसँग पुनः नम्बर माग्छन् नदिएपछि गोजीमा हात हाल्छन् र नगद निकाल्छन् । भन्छन्, ‘तिम्रो नम्बर देउ, म यो पैसा दिन्छु ।’ त्यति गर्दापनि किशोरीले मोवाइल नम्बर नदिएपछि मित्तलले आफ्नो नम्बर लिन आग्रह गर्छन् । मोवाइलमा नम्बर लिने बहानामा ती किशोरीले व्यवसायी मित्तलको भिडियो सुट गरेकी छन् । युवतीको घरमा कोही नभएको थाहा पाएपछि मित्तलले युवतीलाई हातपातसमेत गरेको युवती परिवारको आरोप छ । युवतीको परिवारले इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिएको परिवारले जनाएको छ । 
यसैबीच घटनाको जानकारी लिन इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षकलाई पटकपटक सम्पर्क गर्न खोज्दा फोन उठेन । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक बसुन्धरा खड्काले उक्त विषयमा छानविन भइरहेको जानकारी दिइन् ।