मेचीनगर । सम्झौता भन्दा दोब्बरबढी कर व्यापारीसँग उठाएको गुनासो आएपछि झापाको मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा धुलाबारी बजार अनुगमन गरिएको छ ।
मेचीनगर–१० स्थित धुलाबारी बजार सिरानको शुक्रबारे हटियामा नगरप्रमुख बुढाथोकीको नेतृत्वमा उपप्रमुख मीना पोखरेल उप्रेती, कार्यपालिका सदस्य चित्र धिमाल, नगरप्रहरी लगायतको टोलीले सो क्षेत्रमा बजार अनुगमन गरेको हो ।
उनका अनुसार हाट बजार ठेक्का लिएका ठेकेदारले व्यापारीसँग कसरी कर उठाइरहेका छन्, नगरपालिकाले तोकेको दररेट अनुसार उठाएको छ–छैन, व्यापारीहरुले सामानहरु उपभोक्ताहरुलाई बेच्दा सही मूल्यमा बिक्री–वितरण भएको छ–छैन्, सार्वजनिक शौचालय र बजार सरसफाइमा ध्यान दिएको छ–छैन् लगायतका विषयमा अनुगमन तथा निरीक्षण गरिएको हो ।
व्यापारीले हाट बजार ठेक्का लिएको ठेकेदारले बजार सरसफाइमा ध्यान नदिएको, सार्वजनिक सौचालय अव्यवस्थित रहेको, पसलेहरूलाई पसल भएको ठाउँको कर तिरेको रसिद अधिकांशलाई नदिएको, साना–ठुला पसललाई कर एउटै प्रकारले लिएको, ठाउँ अनुसार र सामानको प्रकार नहेरी कर लिएको, व्यापारीले सामानको मूल्य काहिँ धेरै, काहिँ कम्ती लिने गरेको लगायतका समस्याहरू अनुगमनका क्रममा पाइएको उनले बताए ।
नगरपालिकाले तोकेको कर तिरेको रसिद लिन र सामान महंगामो नबेच्न व्यापारीहरूलाई समेत अनुरोध गरिएको उपप्रमुख पोखरेलले बताइन् । मेचीनगरका सबै प्रकारको बजार अनुगमनलाई व्यवस्थित रुपमा निरन्तरता दिँदै जाने दावी गरिन् ।
अधिकांश व्यापारीहरुले करको पैसा लाने गरेको रसिद कहिले काहीँ मात्र दिने गरेको बताएका छन् । यूनिक कन्सट्रक्सनका सञ्चालक भीम शिवाकोटीले मेचीनगर क्षेत्रका सबै सब्जी बजारहरुको ठेक्का लिएका थिए ।
करिव ३० लाख ३२ हजार रुपैयाँमा ठेक्का लिएको म्याद अब असार मसान्तमा सकिदैँछ । ठेकेदार शिवाकोटीले रसिद छाप्न ढिलो भएको स्वीकार गर्दै गल्ती भएको छ, सुधार गर्दै लाने बताए ।