एजेन्सी । अमेरिकी सञ्चारमाध्यमहरूलाई प्रसारण इजाजतपत्र खोस्न सकिने चेतावनी दिएपछि प्रेस स्वतन्त्रतामाथि दबाब बढेको भन्दै तीव्र आलोचना भएको छ ।इरानविरुद्धको युद्धसम्बन्धी आलोचनात्मक समाचार प्रकाशन- प्रसारण गरेको भन्दै सामाजिक संजालमा उक्त चेतावनी दिएपछि तीब्र आलोचना भएको हो । 

अमेरिकाको फेडरल कम्युनिकेसन्स कमिसन(एफसीसी)का अध्यक्ष ब्रेन्डन कारले सामाजिक सञ्जालमार्फत सञ्चारमाध्यमलाई “सार्वजनिक हितअनुसार काम गर्नुपर्ने” चेतावनी दिएका हुन्। उनले समाचारमा “भ्रामक सूचना” वा “नक्कली समाचार” फैलाइएको भन्दै त्यसलाई सच्याउन आग्रह गरेका छन्।

“नक्कली समाचार र भ्रामक सूचना प्रसारण गर्ने सञ्चारमाध्यमहरूले आफ्नो इजाजतपत्र नवीकरणअघि नै बाटो सच्याउने अवसर पाएका छन्,” कारले लेखेका छन्। कारको यो अभिव्यक्तिलाई लिएर राजनीतिज्ञ तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले कडा आलोचना गरेका छन्। हवाई राज्यका सिनेटर ब्रायन शाट्जले सरकारको यस्तो चेतावनीलाई प्रत्यक्ष सेन्सरशिपको प्रयास भएको बताएका छन्।

“यो युद्धको सकारात्मक कभरेज गर्न निर्देशन दिएको जस्तो देखिन्छ, अन्यथा इजाजतपत्र नवीकरण नहुने संकेत गरिएको छ,” उनले प्रतिक्रिया दिएका छन्। फाउन्डेसन फर इन्डिभिजुअल राइट्स एन्ड एक्सप्रेशन (फायर) का सार्वजनिक वकालत निर्देशक आरोन टेरले पनि सरकारलाई प्रेस स्वतन्त्रतामाथि दबाब नदिन आग्रह गरेका छन्। उनका अनुसार युद्धबारे जानकारी र आलोचना सार्वजनिक गर्नु सञ्चारमाध्यमको अधिकार हो।

एफसीसी अध्यक्ष कारको चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जालमा आएको टिप्पणीपछि आएको हो। ट्रम्पले केही सञ्चारमाध्यमले साउदी अरबमा रहेको अमेरिकी इन्धन भर्ने विमानहरू इरानी आक्रमणमा नष्ट भएको भ्रामक समाचार दिएको आरोप लगाएका थिए। ट्रम्पका अनुसार उक्त सैन्य आधारमा आक्रमण भए पनि विमानहरू नष्ट भएका छैनन् र अधिकांश विमान सेवा सञ्चालनमा फर्किसकेका छन्। उनले सञ्चारमाध्यमलाई “देश हारोस् भन्ने चाहने” भनेर आरोप लगाएका छन्।

यसैबीच अमेरिकी र इजरायली सेनाले फेब्रुअरी २८ देखि इरानविरुद्ध सुरु गरेको सैन्य कारबाही अमेरिकाभित्रै पनि विवादित बनेको छ। क्विनिपियाक विश्वविद्यालयको हालैको सर्वेक्षणअनुसार ५३ प्रतिशत अमेरिकी मतदाताले इरानविरुद्धको युद्धको विरोध गरेका छन्। रक्षा सचिव पिट हेगसेथले पनि केही सञ्चारमाध्यमले युद्धलाई नकारात्मक रूपमा प्रस्तुत गरेको भन्दै “देशभक्तिपूर्ण रिपोर्टिङ” गर्नुपर्ने बताएका छन् । उनले विशेषगरी केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई आलोचना गर्दै युद्धको अवस्थाबारे सकारात्मक शीर्षक प्रयोग गर्नुपर्ने बताएका थिए।

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपको आशंका बढेको भन्दै अमेरिकी सञ्चार क्षेत्र र अधिकारवादी संस्थाहरूले ट्रम्प प्रशासनको चेतावनीलाई गम्भीर रूपमा लिएका छन्।