झापा । पत्रकार अर्जुन आचार्यमाथि साङ्घातिक आक्रमण गर्ने मुख्य अभियुक्त युवराज पाठक पक्राउ परेका छन् । घटना भएको १५ दिन र किटानी जाहेरी दर्ता भएको दुई साता बितिसक्दा पनि आरोपी पक्राउ नपरेको भन्दै प्रहरी प्रशासनको आलोचना भइरहेका बेला प्रहरीले पाठकलाई आज (शनिबार) बिहान नियन्त्रणमा लिएको हो ।
झापाको शिवसताक्षी नगरपालिका–४ स्थित बुलुचोकमा लुकेर बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । झिलझिले चोकबाट झण्डै १० किलोमिटर टाढा आफन्तको घरमा बसेका पाठकलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले बिहानै नियन्त्रणमा लिएर दमक ल्याएको छ ।
यसरी भएको पत्रकार आक्रमण:
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा ‘घरदैलो’ अभियानको समाचार संकलन गरिरहेका आचार्यमाथि गत फागुन १४ गते कमल गाउँपालिका–६, जीवनचोकमा आक्रमण भएको थियो । एमाले निकट भ्रातृ संगठन ‘भोलेन्टियर्स फोर्स’ का सदस्यहरूले आचार्यलाई मुक्का र बुट प्रहार गरी घाइते बनाएका थिए ।
एमालेको घरदैलोका क्रममा केही महिलाहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) मा मतदान गर्ने बताएको दृश्य खिचिरहेका बेला आचार्यमाथि आक्रमण भएको थियो । पीडितका अनुसार उनलाई बा २ च ९६१ नम्बरको सेतो स्कोर्पियोमा जबर्जस्ती चढाएर अपहरण गर्ने प्रयास समेत गरिएको थियो । आक्रमणकारीले आचार्यको मोबाइल र चस्मा समेत लुटेर ‘दमक पुगेपछि थप देखाइदिने’ धम्की दिएका थिए । आचार्य रातोपाटी डटकमका कोशी प्रदेश प्रमुख तथा हाम्रोमत डटकमका कार्यकारी सम्पादक हुन् ।
घटनाको भोलिपल्टै आचार्यले पाठक लगायत ५ जनाविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा ‘अभद्र व्यवहार’ को मुद्दामा किटानी जाहेरी दिएका थिए । तर, लामो समयसम्म आरोपीहरू खुलामुलै हिँड्दा पनि पक्राउ नपरेपछि नेपाल पत्रकार महासंघ कोशी प्रदेशको टोलीले फागुन १९ गते प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद घिमिरेलाई भेटेर ध्यानाकर्षण गराएको थियो ।
डिआइजी घिमिरेले तत्काल कारबाहीका लागि निर्देशन दिएको ११ दिनपछि र घटना भएको १५ दिन पुग्दा प्रहरीले मुख्य अभियुक्तलाई समात्न सफल भएको हो । झापा प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान भइरहेको र अन्य अभियुक्तहरूको पनि खोजी भइरहेको बताएको छ ।
प्रेस स्वतन्त्रतामाथि नै प्रहार भएको यस घटनामा राजनीतिक संरक्षणका कारण आरोपी पक्राउ पर्न ढिलाइ भएको भन्दै पत्रकार सम्बद्ध संघसंस्थाहरूले विरोध जनाउँदै आएका थिए । मुख्य अभियुक्त पक्राउ परेसँगै पीडित पत्रकारले लुटिएका सामान फिर्ता र क्षतिपूर्तिको माग समेत गरेका छन् ।



















































